भरतपुर, ०७ फागुन । छैटौं गणेशबहादुर स्मृति जिल्ला स्तरीय अन्डर २१ नकआउट फुटबलको उपाधि भोजाड एफसीले जितेको छ ।
आज (सोमबार) भएको उपाधि भिडन्तमा आयोजक नारायणी मोटर्स युनिक एफसी निलोलाई पराजित गर्दै भोजाड च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा भोजाडलाई जिताउन एन्जल तामाङ र सन्देश श्रेष्ठले गोल गरे। युनिकका दीपेश गुरुङले एक गोल गरे ।
दीपेशको गोलमा लिएको अग्रता जोगाउन नसक्दा युनिक उपविजेतामा सीमित भयो । भोजाडका रिङसाङ गुरुङ म्यान अद दि म्याच भए ।
उपाधि विजेता भोजाडले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित युनिकले ५० हजारमा चित्त बुझाएको छ । भोजाडका किरण गुरुङ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । उनले पाँच हजार प्राप्त गरे ।
भोजाडका मनिश गुरुङ उत्कृष्ट गोलरक्षक, युनिकका विशाल गुरुङ उत्कृष्ट डिफेन्डर, युनिकका सुदीप गुरुङ इमर्जिङ प्लेयर र भोजाडका सन्देश श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही तीन-तीन हजार प्राप्त गरे ।