चितवन । विगतका वर्षहरु जस्तै यस बर्ष पनि तामाङ्ग समुदायको सोनाम ल्होछार तीब्र रुपमा मनाईने भएको छ । भरतपुर नगर तामाङ समाजले यसवर्ष पनि सोनाम ल्होछार पर्व मनाउने तयारी तीब्र पारेको हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन पर्ने ल्होछार पर्वमा भोजाडस्थित यसवर्ष पनि छेच्यु थर्पलिङ गुम्बामा भव्य कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको समाजले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
समाजका अध्यक्ष इञ्जिनियर सूर्यप्रकाश लामाले समाजले ल्होछारलाई विशेष बनाउनका लागि राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरु मार्फत सांस्कृतिक कार्यक्रमलाई भव्य बनाउने तयारी गरेको बताउनु भयो । समाजले २०६६ सालदेखि हरेक वर्ष ल्होछार पर्व मनाउँदै आएको छ ।
यही माघ २७ गते विशेष कार्यक्रम आयोजना गरेर सोनाम ल्होछार पर्व मनाउने तयारी गरिएको हो । छेच्यु थर्पलिङ गुम्बामा बिहानैदेखि पूजापाठ चल्ने पनि समाजले जनाएको छ । कार्यक्रममा करिब चार हजारको हाराहारीमा मानिसहरुको उपस्थिति रहने आयोजकको अपेक्षा छ ।
भरतपुर महानगरपालिकाभित्र करिब आठ हजारको हाराहारीमा जनसङ्ख्या रहेको तामाङ समुदाय समाजमा भने करिब ३०० जना आवद्ध छन् । तर, ल्होछारका दिन समाजमा आबद्ध भएका र नभएका सबैलाई उपस्थित भइदिन समाजले आग्रह गरेको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि भरतपुर महानगरपालिकाभित्र रहेका विभिन्न समाज तथा गुठीहरुको सहआयोजनामा ल्होछार मनाउन लागिएको हो ।
ल्होछार पर्व नेपालको पहाडी आदिवासी समुदायले मनाउने प्रमुख सांस्कृतिक पर्व हो । तामाङसहित गुरूङ, र शेर्पा जातिले ल्होछार विशेष तरिकाले मनाउने गर्दछन् । तर, पछिल्लो समय भने ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतका समुदायले पनि फरक–फरक मितिमा ल्होछार मनाउन थालेका छन् ।