चितवन । भरतपुर महानगरपालिका–१२ निवासी दानवीर भीमराज पाठकको निधन भएको छ । उनासी वर्षीय उहाँको मुटुको रोग र दमका कारण काठमाडौँको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा निधन भएको हो ।
धादिङको तत्कालीन राक्सिङ गाविसमा विसं २००१ चैत २२ गते जन्मिनुभएका पाठक विसं २०१७ देखि चितवनमा बसोबास गर्दै आउनुभएको थियो । भरतपुरस्थित नेपाल नेत्रज्योति सङ्घमा भीमराज उषामाया पाठक आँखा बैंक स्थापना गर्न आफ्नो जमिन बेचेर उहाँले रु एक करोड ५० लाख सहयोग गर्नुभएको थियो ।
यसैगरी क्यान्सर सेवा समाजलाई रु ४५ लाख, नेपाल क्षयरोग निवारण संस्थालाई एम्बुलेन्स खरिदका लागि रु १५ लाख, हिमालय मावि, सिद्धिविनायक माविलगायत विद्यालय र सङ्घ संस्थालाई पाठकले सक्दो दान गर्दै आउनुभएको थियो । उहाँको आज बिहान देवघाटमा अन्त्येष्टि गरिँदै छ । पाठककी श्रीमती उषामायाको यसअघि नै निधन भइसकेको र अन्य सन्तान छैनन् । रासस