चितवन । गत मंसिर महिनामा सम्पन्न भएको चितवन नारायणी महोत्सवको आय व्यय सार्वजनिक गरिएको छ । महोत्सव आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत र महोत्सव संयोजक पिंगलराज पन्तले (बिहीबार) पत्रकार सम्मेलन गर्दै आयव्यय सार्वजनिक गरेका हुन् । पन्तका अनुसार गत मंसिर ६ देखि १६ गतेसम्म सम्पन्न महोत्सवबाट ४९ लाख ६३ हजार ५०० रुपैयाँ आम्दानी भएको छ भने ३९ लाख ५८ हजार २३३ रुपैयाँ खर्च भएको छ ।
आम्दानी र खर्च घटाएर बचत भएको १० लाख ५ हजार २६७ रुपैयाँ मध्य १० लाख एक रुपैयाँ लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गरिएको उनले बताए । संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत रिकभरिङ्ग युनाइटेडका अध्यक्ष श्रेष्ठलाई १० लाख १ रुपैंयाको चेक हस्तान्तरण गरिएको हो । प्राप्त सहयोग रकम दुव्र्यसनमा रहेका २० जनाको उपचारका लागि खर्च गरिने श्रेष्ठले बताए । ।
औद्योगिक शान्ति नेपालले महोत्सवको आम्दानीबाट २० जना लागूऔषध प्रयोगकर्ताहरुको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो । सोही अनुसार आज रिकभरिङ्ग युनाइटेडलाई रकम हस्तान्तरण गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले बताए ।