चितवन । भरतपुर महानगरपालिका–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरले स्वर्णमहोत्सव मनाउँने भएको छ । माघ २५ गतेदेखि फागुन २ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउन लागेको हो । स्थापनाको ५० वर्ष नाघेको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनाउन लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् स्वर्णमहोत्सव मूल समारोह समितिका संयोजक राजेन्द्रमणी काफ्लेले स्वर्णमहोत्सवबाट एक करोड १० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताए । त्यसमध्ये ८५ लाख रूपैयाँ विद्यार्थी सहयोग कोषमा राखिने उनले बताए ।
स्वर्णमहोत्सव अन्तर्गत माघ २४ गते मोटरसाइकल ¥यालीको आयोजना गरिने छ । त्यस्तै माघ २५ गते शोभायात्रा, आर्थिक सहयोग स्वघोषणा कार्यक्रम र महोत्सवको उद्घाटन कार्यक्रम गरिने छ । माघ २६ गतेदेखि फागुन १ गतेसम्म आर्थिक सहयोग स्वघोषणा, सम्मान कार्यक्रम, लोकसांस्कृतिक कार्यक्रम, विद्यार्थी प्रतिभा प्रस्तुति लगायतका कार्यक्रम राखिएको उनले जानकारी दिए ।
फागुन २ गते स्वर्णमहोत्सव समारोहका औपचारिक कार्यक्रम, प्रधानाध्यापकको प्रतिवेदन, सम्मान कार्यक्रम, जलपान र महोत्सव समापन हुने काफ्लेले बताए । कृष्णपुर मावि २०२३ साल फागुन २ गते श्रीपञ्चमीका दिन स्थापना भएको हो । भरतपुर–७ का वडाध्यक्षसमेत रहेका काफ्लेले भरतपुर–७ का जनप्रतिनिधिको तर्फबाट विद्यालयलाई १० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरे ।
कोरोना महामारी, विद्यालयको भौतिक संरचनालगायत विविध कारणले गर्दा स्वर्णमहोत्सव केही पछाडि धकेलिएको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद न्यौपानेले बताए । विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्दै लगेकाले विद्यार्थीको संख्यासमेत बढ्दै गएको उनले बताए । कृष्णपुर माविमा हाल ४६५ जना विद्यार्थी अध्ययनरत छन् ।