चितवन । भरतपुर महानगरपालिकाले रु नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।
उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताउनुभयो ।
चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उहाँले बताउनुभयो । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन पूरक बजेट ल्याइएको उहाँले बताउनुभयो ।
महानगरले आर्थिक वर्ष २०८०÷८१ का लागि रु ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार बजेट विनियोजन गरेको थियो । पूँजीगत खर्चतर्फ विनियोजित रु तीन अर्ब ७२ करोड ६५ लाख ६ हजारमा पुस मसान्तसम्म रु ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष रु एक अर्ब ७५ करोड आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म रु ५३ करोड तीन लाख सङ्कलन भएको छ ।
महानगर प्रमुख रेनु दाहालले पूरक बजेटबाट समपूरक साझेदारी कोषका लागि विद्युत् प्राधिकरणसँग ‘स्मार्ट लाइट’ साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले सहरी सौन्दर्यकरण, चोक सुधार कार्यक्रम, मानव सेवा आश्रम पूर्वाधार निर्माण, दलित विद्यार्थी छात्रवृत्तिलगायत कार्यक्रममा पूरक बजेट राखिएको जानकारी दिनुभयो । रासस