चितवन । उद्योग वाणिज्य संघ चितवनको कार्यसमिति सदस्यमा युवा उम्मेदवार महेश लामिछानेले उम्मेदवारी दिनुभएको छ । पुष २३ गते हुने संघको ५७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा लामिछानेले उद्योगतर्फ खुला सदस्यमा उम्मेदवारी दिएका हुन् ।
शिक्षा क्षेत्रका युवा उम्मेदवार लामिछाने डेढ दशकदेखि शैक्षिक तथा व्यवसायीक क्षेत्रमा सक्रिय हुनुहुन्छ । भरतपुर-१० सप्तगण्डकीचोकका स्थायी बासिन्दा ३५ वर्षीय लामिछानेले ‘राष्ट्रको आवश्यकता, उद्योगमा युवा सहभागीता’ भन्ने नारासहित आफूले उद्योगतर्फ सदस्य पदमा उम्मेदवारी दिएको बताउनुभयो ।
अहिलेको बिषम परिस्थिमा उद्योगी व्यवसायीहरुको समस्या सम्बोधन तथा समाधानको मार्ग खोज्नका लागि आफू उम्मेदवार बनेको उहाँको भनाइ छ । आफू युवा भएको र युवा उद्योगीहरुको पिर मर्का नजिकबाट नियालेको भन्दै त्यस्ता समस्या समाधानमा केन्द्रित हुने लामिछानेको प्रतिवद्धता छ । ‘म आफू स्वयं पनि युवा अवस्थाबाट नै यस क्षेत्रमा लागेको हुँ । युवा तथा समग्र उद्योगी व्यवसायीहरुको समस्यालाई मैले नजिकबाट नियालेको छु । ती समस्या समाधानको बाटो खोज्न म प्रतिवद्ध हुनेछ’, लामिछानेले भन्नुभयो ।
युवाहरु विदेशिने क्रम रहेकोले उनीहरुलाई देशमै उद्योग व्यवसाय गर्ने वातारणमा बनाउन पहल गर्ने उहाँको भनाइ छ । लामिछानेले उद्योगमा युवाहरुको सहभागीता अहिलेको आवश्यकता रहेको भन्दै आफूलाई मत दिएर जिताउन चितवनका सम्पूर्ण उद्योगीहरुलाई आग्रह गर्नुभयो ।
भरतपुरमा रहेको द जिएमआईका प्रिन्सिपल लामिछाने गोल्डेन गेट होस्टेल, एम एस पुस्तक एण्ड स्टेसनरी, गुड लाइफ होम केयर नेपाल, न्यू गंगा काष्ठ तथा फर्निचर उद्योग, सहि हो इभेन्टस् एण्ड इन्टरटेनमेन्टका सञ्चालक समेत हुनुहुन्छ ।
विभिन्न शैक्षिक एवं व्यवसायिक संस्थाका सञ्चालक लामिछानेले हाल बालकुमारी कलेज, नारायणी बहुप्राविधिक शिक्षालय, अर्किड कलेज र ग्रीनल्याण्ड पब्लिक कलेजमा भौतिकशास्त्रका प्राध्यापक हुनुहुन्छ । पुष २३ गते हुने संघको अधिवेशनमा कार्य समिति सदस्यका लागि उद्योग तर्फ १२ जना उम्मेदवार छन् ।