चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा नारायणगढको क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बुधवार सांँझ एक कार्यक्रमका बीच होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले समापन गर्नुभएको हो हुन् । समापन कार्यक्रममा बोल्दै चुकेले संघले आयोजना गरेको फुड फेष्टिबलमा रैथाने परिकारको आकर्षण बढ्नु पर्यटन क्षेत्रको लागि सुखद पक्ष रहेको बताउनु भयो ।
पुष १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको फुड फेस्टिबल ३० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको संघले जनाएको छ ।
चुकेले नियमित रुपमा फुड फेस्टिबल आयोजना गर्न होटल व्यवसायी संघ चितवनलाई आग्रह गर्नुभयो । ग्राहकलाई खाना खुवाउने व्यवसायीले नै बेला बखत फुड फेस्टिबल गर्नु राम्रो भएको भन्दै उहांँले संघले गरेको पहिलो प्रयास नै सफल भएको बताउनुभयो ।
उहांँले देशभरका करिब ८० हजार होटल तथा रेष्टुरेन्ट महासंघमा आबद्ध रहेको जानकारी दिनुभभयो । आठ लाख भन्दा बढीलाई रोजगारी दिएको होटल व्यवसायमा तीन खर्बको लगानी रहेको उहांँको भनाई छ । ‘नेपालको आन्तरिक तथा बाह्य पर्यटनलाई होटल व्यवसाय क्षेत्रले सघाएको छ । गुणस्तरीय सेवा प्रदान गराउनका लागि होटल व्यवसायीको आचारसंहिता पनि लागु भएको छ’, उहांँले भन्नुभयो ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले पहिलो पटक आयोजना गरिएको फुड फेस्टिबल सफल भएको बताउनु भयो । फुड फेस्टिबल सञ्चालनका क्रममा भएको कमी कमजोरी आगामी दिनमा हुन नदिने उहांँले प्रतिबद्धता पनि व्यक्त गर्नुभभयो ।
होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष जनक पौडेलको संयोजकत्वमा भएको फुड फेस्टिबलमा ३९ वटा स्टल थिए । फुड फेस्टिबलमा भएको आर्थिक कारोबार र खर्चको हिसावकिताब केहि दिनमा सार्वजनिक गरिने संघका सचिव कृष्ण महत्तोले जानकारी दिनुभयो ।