चितवन । भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा जारी नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिटमा मिलन ईँग्लिस बोर्डिङ स्कुल ४ स्वर्ण जित्दै शिर्ष स्थानमा रहेको छ । दोस्रो दिनसम्म आइपुग्दा मिलनले ४ स्वर्ण र १ कास्य गरी कुल ५ पदक जितेको छ ।
उसका लागि सलिस्मा ढकाल एक्लैले ४ स्वर्ण जितेकी छन् । सलिस्माले महिला २ सय र ४ सय मिटर दौड तथा ट्रिपल जम्पमा गरी चार स्वर्ण जितिन् । यस्तै महिला १५ सय मिटरमा अमिशा पौडेलले पनि स्वर्ण पदक जितेकी छन् । अमिशाले लङ्ग जम्पमा कास्य पनि जितिन् ।
३ स्वर्ण जितेको सिद्धि विनायक ईँग्लिस बोर्डिङ स्कुल दोस्रो स्थानमा छ । सिद्धि विनायकका लागि पुरुष १५ सय मिटर दौडमा सुनिल विक, ८ सय मिटरमा अभिषेक विक र महिला ८ सय मिटरमा आयुशा परियारले स्वर्ण जितेका छन् । यस्तै सिद्धि विनायकले ३ रजत र एक कास्य पनि जितेको छ ।
पुरुष ४ सय मिटर दौडमा अभिषेकले रजत जित्दा २ सय मिटरमा सन्दीप सिंह प्रजा र महिला ट्रिपल जम्पमा मेबिका कुमालले रजत पदक हात पारे । चार गुणा चार सय मिटरमा रिलेमा सिद्धि विनायकले एक कास्य हात पार्न सफल भयो ।
यस्तै सनराईज ईँग्लिस बोर्डिङ स्कुल बोर्डिङ स्कुलले २ स्वर्ण र ३ कास्य जित्दा, स्मल हेभनले १ स्वर्ण, २ रजत र ३ कास्य जितेको छ । श्री जनप्रिय र ब्लु बर्डले समान १ स्वर्ण, १ रजत र १ कास्य जितेका छन् । होली भिजनले १ स्वर्ण र ४ रजत, लिटल फ्लावरले एक स्वर्ण र एक रजत जितेको छ । लोटस एकेडेमी, युनिक एकेडेमी र श्री शान्ति ईँग्लिस बोर्डिङले समान १-१ स्वर्ण जितेका छन् ।
वाल्मिकी शिक्षा सदनले १ रजत र २ कास्य, नारायणी ईँग्लिस बोर्डिङले २ रजत तथा अर्बिट स्कुल र ग्रीन सोसाइटीले समान १-१ रजत जितेका छन् । ग्रीनल्याण्ड ईँग्लिस बोर्डिङले २ कास्य तथा ओम शान्ति एकेडेमी र उषा ईँग्लिस बोर्डिङले समान १-१ कास्य जितेका छन् ।
पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३८ संस्थागत विद्यालय सहभागी छन् । सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा महिला र पुरुष दुबैतर्फ १२/१२ स्वर्ण, १२/१२ रजत र १२/१२ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । विद्यालयले हरेक दुई-दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ ।