चितवन । कालिका नगरपालिका–१० र ११ का बाढी प्रभावित परिवारलाई काठमाडौँको ग्लोबल कलेज इन्टरनेशनलका विद्यार्थीले सहयोग गरेका छन् । असार १७ गतेको बाढीले घरबारविहिन बनेका चेपाङ वस्तीमा खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका हुन् ।
एक महिनासम्म विद्यार्थी तथा अभिभावकबाट आर्थिक संकलन गरी करिब २ लाख बराबरका सामाग्री हस्तान्तरण गरेका छन् । ग्लोबल सोसल क्लबको जिसिआइ फुड एण्ड क्लोथिङ डोनेसन सर्कलका लिडर गौरवराज श्रेष्ठका अनुसार २२ परिवारलाई सहयोग दिइएको हो । ब्ल्याङकेट, चामल, लत्ताकपडाका सेट, नुन, सोयाविन, चाउचाउ लगायतका समाग्री वितरण भएको हो ।
बाढीले घरखेत बगाएपछि बाख्राको खोर, अस्थायी टहरा, स्कुलको छात्राबास, आफन्तीको घरमा उनीहरुले आश्रय लिएका छन् । ग्लोबल कलेजको विटिएम विभागका शिक्षक नोजल कोइराला, प्रशासन शाखा प्रमुख पदम पाण्डेले सञ्चारमाध्यममा समाचार आएपछि सहयोग गरिएको बताए । चेपाङ अभियान्ता केपीकिरण शर्माले घरबारविहीन परिवारलाई स्थायी बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकारले पहल गर्नुपर्ने बताए ।
तत्कालिन सिद्धि गाविसका पूर्वअध्यक्ष कृष्णबहादुर प्रजाले एक महिना पुरा हुँदासमेत राहतको भरमा बस्नुपर्ने बाध्यता रहेको बताए । उनको पनि बाढीले घरखेत बगाएको छ । कालिकाको तीनदोभान, चेउराङ, कामिमाङ लगायतका क्षेत्रमा बाढीले ठुलो असर पु¥याएको छ ।