चितवन । प्रेस चौतारी नेपालका पूर्व वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले वैवाहिक वार्षिकोत्सवको सन्दर्भ पारेर प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहाकारसमेत रहेका शर्माले वैवाहिक वार्षिकोत्सवको सन्दर्भमा चौतारी चितवनको भवन निर्माणका लागि १० हजार सहयोग गरेका हुन् । शर्मा २३ बर्ष अगाडि गीता रिमाल शर्मासँग वैवाहिक वन्धनमा बाँधिएका थिए ।
प्रेस चौतारीको देश कै पहिलो भवन चितवनमा बन्न लागेको प्रति खुसी भएको भन्दै पूर्व बरिष्ठ उपाध्यक्ष शर्माले यसलाई पूर्णता दिन सबैको साथ र सहयोगको खाँचो रहेको बताए । उनले संगठनको पहिलो भवन भएकोले देशभरका चौतारी आवद्ध रहेका, शुभेच्छुकहरुले सहयोग गर्नुपर्ने बताए । चितवनले सुरु गरेको कामले अन्य जिल्लालाई समेत प्रेरणा मिल्ने भन्दै शर्माले भवनले संगठनको संस्थागत विकासमा टेवा पुग्ने बताए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले संगठनका पूर्व वरिष्ठ उपाध्यक्षको वैवाहिक बर्षगाँठको अवसरमा शुभकामना दिँदै भवन निर्माणमा गरेको सहयोगले हौसला मिलेको बताए । चितवनको
भरतपुर–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले गरेको सहयोग अतुलनीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ ।
भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ । पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरु रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।