काठमाडौं । सरकारले कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजहरूको व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । प्रमुख जिल्ला अधिकारीको मातहतमा रहने गरी कोभिड संक्रमितको उपचार गर्ने सबै अस्पतालहरू अब जिल्ला प्रशासन कार्यालयमा सूचीकृत गरिनेछ ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ, स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रबाट गरिँदै आएको अस्पतालहरूको व्यवस्थापनको जिम्मा प्रशासनलाई समेत दिइएको हो । गृह मन्त्रालयले सोही अनुसार अस्पतालहरूको सूची स्वास्थ्य मन्त्रालयको एचईओसीमा पठाउन निर्देशन दिएको छ ।
सरकारबाट सोधभर्ना रकम लिएर कोभिड संक्रमितको निशुल्क उपचार गर्ने अस्पतालहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत नै नियमन गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार यो नियमअनुसार आइसोलेसन सेन्टर तथा अस्पतालहरूको संख्या थपघटको अधिकार पनि प्रमुख जिल्ला अधिकारीसँग रहनेछ । कोभिड संक्रमणको पहिलो र दोस्रो लहरमा पनि सरकारले सबै सरकारी र केही निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा सूचीकृत गरेको थियो ।