वाशिङ्टन डीसी (अमेरिका) । ह्याकरहरुले मंगलवार विकेन्द्रिकृत वित्त मञ्च पोली नेटवर्कको ६० करोड डलर मूल्य बराबरका क्रिप्टोकरेन्सी चोरेका थिए । यसमध्ये करीब आधा अर्थात् २६ करोड डलर मूल्यका क्रिप्टोकरेन्सी बुधवार फिर्ता भएको पोली नेटवर्कले बताएको छ ।
चोरीको घटनापछि पोली नेटवर्कले चोरिएको रकम फिर्ता गर्ने अनुरोध सहितको एक पत्र ट्विटरमा पोष्ट गरेको थियो । त्यसपछि आफू ह्याकर भएको दाबी गर्ने एक व्यक्तिले पनि आफूलाई पैसामा रुचि नभएको र रमाइलोका लागि मात्रै त्यस्तो गरेको भन्दै म्यासेज पोष्ट गरेको थियो ।
ह्याकरहरुले ३३ लाख मूल्य बराबरको इथर, २५ करोड ६० लाख मूल्य बराबरका बाइनान्स क्वाइन र १० लाख मूल्य बराबरका पोलिगन फिर्ता गरेको ट्विट गर्दै कम्पनीले बताएको हो । २६ करोड ९० लाख मूल्यका इथर टोकन र ८ करोड ४० लाख मूल्यका पोलिगन टोकन भने फिर्ता लिन बाँकी रहेको बताइएको छ । एजेन्सी