चितवन । चितवनमा मंसिर ५ गतेदेखि जेसीज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । नारायणगढ लेडी जिसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।
मसिर ५ देखि सुरु हुने प्रतियोगिता ९ गतेसम्म चल्नेछ । प्रतियोगितामा देशभरका ८ टोली सहभागी हुने नारायणगढ लेडी जेसीजकी अध्यक्ष सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा चितवन ११, अभिषेक चर्च रजहर, गैंडाकोट खेलकुद बिकास समिति, बागमती गाउँपालिका मकवानपुर, रौतहट महिला फुटबल एकेडेमी, गोकर्णेश्वर नगरपालिका काठमाडौं, अल स्टार्स स्पोर्टस एकेडेमी धनगढी र बागमती युवा क्लब सर्लाही सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले जनही १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल प्रहरी शिक्षालयको मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि सेमिफाइनलसम्मलाई ५० तथा फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
खेलकुदको माध्यमबाट महिला शशक्तिकरणका लागि प्रतियोगिता आयोजना गरिएको नारायणगढ लेडी जेसीजकी अध्यक्ष श्रेष्ठको भनाइ छ । यसले सुस्त रहेको घरेलु फुटबललाई चलायमान बनाउन मद्त मिल्ने उहाँको विश्वास छ ।
२०७८ सालमा चितवनमा राष्ट्रिय महिला लिग भएयता महिला फुटबल प्रतियोगिता भएका छैनन् । शुन्य अवस्थामा रहेको महिला फुटबललाई गतिशिल बनाउन प्रतियोगिता आयोजना गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताउनुभयो । सहभागी क्लबहरुमा राष्ट्रियस्तरका खेलाडीहरु पनि रहनेछन् । महिला फुटबलको उर्भर भूमि रौतहट र धनगढीमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहनेछ ।