चितवन । चितवनको नारायणी नदी किनारमा मंसिर ६ गतेदेखि महोत्सव गरिने भएको छ । रिकभरिङ्ग युनाइटेडको मुख्य आयोजना तथा औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा चितवन रिकभरी जनचेतना, साँस्कृतिक , पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८० हुन लागेको हो । स्थानीय उत्पादनको प्रर्वद्धन गर्न र आर्थिक गतिविधि चलायमान बनाउने उद्धेश्य सहित महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिएको छ । मंसिर १६ गतेसम्म १० दिन हुने महोत्सवको आज (मंगलबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । लागू औषध तथा मद्यपान प्रयोगकर्ताहरुको निःशुल्क उपचार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको रिकभरिङ्ग युनाइटेडका अध्यक्ष रविनकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा २५० वटा सम्म स्टल रहनेछन र बुकिङ्ग समेत सञ्चालन गरिएको छ । महोत्सवमा औद्योगिक उत्पादन, कृषिजन्य उत्पादन व्यवसायका स्टल , वित्तिय संस्थाका स्टल लगायत हस्तकलाका स्टलहरु रहने श्रेष्ठको भनाई छ ।
महोत्सवमा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई सहभागी गराई लागूऔषधविरुद्धका प्रतियोगितात्मक नाटक, कविता, वादविवाद र गायन तथा नृत्य कार्यक्रमहरु पनि हुनेछन् । लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचार मुख्य लक्ष्य भए पनि महोत्सवले सबै क्षेत्रका उद्योगी व्यवसायीहरुको प्रवर्द्धनका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । महोत्सवबाट आर्थिक स्थिति कमजोर भएका ३० जना महिला तथा पुरुष लागूऔषध प्रयोगकर्ताहरुको निःशुल्क उपचारको लक्ष्य रहेको श्रेष्ठले बताए । ‘लागुऔषध दुव्र्यसनीको चुनौति दिनानुदिन बढ्दो छ, श्रेष्ठले भने , विपन्न परिवारको दुव्र्यसनीको उपचारको लागि महोत्सव आयोजना गरेका हौं ।’
महोत्सवमा दैनिक पांँचहजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सव मूल समिति संयोजक महेश श्रेष्ठले जानकारी दिए । प्रतिव्यक्ति ७० रुपैंया र विद्यार्थीलाई ५० रुपैंया प्रवेश शुल्क तोकिएको र महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च अनुमान गरिएको संयोजक श्रेष्ठले बताए । महोत्सव परिसरमा नै सचिवालय स्थापना गरिने र त्यहीबाट इच्छुक उद्योगी व्यवसायीले स्टल बुकिङ गर्न सक्ने उनले जानकारी दिए । यसले घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवर्द्धन तथा बजारीकरण, स्थानीय स्रोत साधन तथा मौलिक परम्परा, स्थानीय स्तरको पहिचान, स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण तथा प्रवर्द्धनमा टेवा पुग्ने उनको भनाई छ ।
महोत्सवले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने सह संयोजक पिंगलराज पन्तले बताए । भरतपुरसहित समग्र चितवनका पर्यटकीय गन्तव्यहरुको जानकारी दिनका लागि महोत्सव परिसरमा छुट्टै डिस्प्ले बोर्ड राखिने छ । महोत्सवमा हरेक दिन सांस्कृतिक कार्यक्रम पनि हुनेछन् । ख्यातीप्राप्त कलाकारहरुले हरेक दिन दर्शकलाई मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ ।
हरेक दिन पाँच हजार गरी ५० हजार जनाले महोत्सव अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सव सम्पन्न गर्न ५७ लाख खर्च हुने अनुमान छ । महोत्सव अवलोकनका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । जेष्ठ नागरिक, विपन्न तथा पाँच वर्ष मुनीका बालबालिकाका लागि निस्शुल्क प्रवेशको व्यवस्था गरिनेछ । महोत्सवको तयारी तीव्र रुपमा अघि बढिरहेको आयोजकले जानकारी दिएको छ ।