वाशिङ्टन डीसी (अमेरिका) । ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरेका छन् ।
यो अहिलेसम्मकै ठूलो आकारको क्रिप्टोकरेन्सी चोरी हो । ह्याकरहरुले आफ्नो प्रणालीमा रहेको कमजोरीको दुरुपयोग गर्दै इथर लगायत हजारौं ओटा डिजिटल क्वाइन चोरेको ब्लकचेन साइट पोली नेटवर्कले बताएको छ ।
ट्विटरमा पोष्ट गरिएको पत्रमा उसले ह्याकरहरुलाई आफूसँग सम्पर्क गर्न र चोरिएका सम्पत्ति फिर्ता गर्न अनुरोध गरेको छ । चोरीको स्तर क्वाइनचेक र माउन्ट गक्स लगायत एक्सचेञ्जमा हालै भएकै हाराहारी भएको बताइएको छ । चोरी भएको रकम डेफी (डिसेन्ट्रलाइज्ड फाइनान्स) को इतिहासकै सबैभन्दा ठूलो मध्ये एक भएको पत्रमा पोली नेटवर्कले भनेको छ ।
चोरी भएको रकम क्रिप्टो समुदायका सदस्यहरु अर्थात् सर्वसाधारणको भएको पनि पत्रमा भनिएको छ । ह्याकरहरुले २६ करोड ७० लाख डलर बराबरको इथर, २५ करोड २० लाख डलर बराबरको बाइनान्स क्वाइन र करीब ८ करोड ५० लाख डलर यूएसडीसी टोकन चोरेका छन् । एजेन्सी