काठमाडौं– धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर विजयश्याम रञ्जित धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंले तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
ललितपुर महानगरपालिका–२ घर भएका ३६ वर्षीय रन्जितले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट नक्कली दर्ता नम्बर लिई काम गरेको अनुसन्धानबाट पुष्टि भएपछि सिआइबीले मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएपनि उनी फेला परेका थिएनन्।
सिआइबीले उनलाई साउन १० गते महराजगञ्जबाट पक्राउ गरेको थियो। रन्जितले एनएमसीको नक्कली दर्ता नम्बर लिएर काम गरेको पाइएपछि लिखतसम्बन्धी कसुरको आरोपमा सिआइबीले काठमाडौं जिल्ला अदालतमा गत फागुनमा मुद्दा दर्ता गरेको थियो।
२०७१ सालदेखि रन्जितमाथि सिआइबीले अनुसन्धान सुरु गरेको थियो। २०७१ सालमा नक्कली डाक्टरविरुद्ध सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा थुप्रै नक्कली डाक्टर पक्राउ परेका थिए।
त्यही बेला डाक्टर रन्जित पनि अनुसन्धानमा तानिएका थिए। त्यसबेला ग्राण्डी अस्पतालमा कार्यरत रहेका रन्जितको आधिकारिकता खुलाई विवरण पठाउन भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले २०७१ फागुन ११ गते नेपाल मेडिकल काउन्सिल र ग्राण्डी अस्पतालको नाममा पत्र काटेको थियो। त्यस बेला सम्बन्धित निकायबाट सहयोग नभएको भन्दै सिआइबीले उक्त फाइल अघि बढाउन सकेको थिएन। पछि अनुसन्धानको क्रममा डाक्टर रजिन्तले डाक्टर लक्ष्मी केसीको नाममा काउन्सिलमा रहेको दर्ता रहेको नम्बर १०८५५ नम्बर प्रयोग गरेर काम गरेको खुलेको थियो।
उक्त दर्ता नम्बर प्रयोग गरी रन्जितले बीएण्डबी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, मानसिक अस्पताल ललितपुर, गणेशमान सिंह मेमोरियल अस्पताल र ह्याम्स अस्पतालको आइसियु, वार्ड तथा इमर्जेजेन्सीमा समेत काम गरेको अनुसन्धानबाट खुलेको थियो।
काउन्सिलको परीक्षामा फेल भएर अर्काको दर्ता नम्बरबाट काम गर्दै आएका उनै डाक्टर रन्जितलाई ग्राण्डी अस्पतालले २०७१ साउनमा ‘ग्राण्डी स्टार अफ दि मन्थ’का रुपमा पुरस्कृत समेत गरेको थियो। ग्राण्डीले उत्कृष्ट भनेर पुरस्कृत उनै डाक्टर रन्जित विरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ