चितवन । चितवन उद्योग संघको आयोजना र नेपाली जुत्ता घरसँगको सहकार्यमा चाडपर्व लक्षित एक महिने ‘पर्व विशेष मेला २०८०’ हुने भएको छ । स्वदेशी उत्पादन र व्यवसायलाई प्रबद्र्धन गर्ने उद्धेश्यले असोज ३ गतेदेखि कात्तिक २ गतेसम्म मेला आयोजना गर्न लागिएको हो । आयोजकले आज (आइतवार) पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । चितवन प्रदर्शनी केन्द्रमा हुने मेलामा जुत्ताचप्पल, खाद्यान्न, लत्ताकपडा, खसीबोका लगायतका उत्पादन प्रदर्शन गरिने छ ।
यसअघि भएको जुत्ताचप्पल प्रदर्शनीे उपलब्धिमुलक भएकोले यस बर्ष पर्व विशेष मेला आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनु भयो । ‘ मेलाले रोजगारी सिर्जना, राजश्वमा योगदान, आयात प्रतिस्थापन आर्थिक गतिविधिलाई चलायमान बनाउंँछ भन्ने विश्वास गरेका छौं । अध्यक्ष कंडेलले भन्नुभयो , राज्यको आर्थिक समृद्धिका लागि आफ्नो तर्फबाट केहि गर्छु भन्दै स्वदेशमै गरी खान्छु भनी लागेका उद्यमीहरुलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरेका हौं ।’ उहांँले भन्नुभयो ।
मेलामा जुत्ता चप्पलका मात्रै १३ वटा उद्योगको स्टल रहने उनले जानकारी दिनुभयो । दशैँ अगाडि मेलाको अन्तिम साता मात्र खसीबोका लगायत खाद्यान्न प्रदर्शन हुने उहांँले बताउनु भयो । मेलामा स्वदेशी उत्पादनको बजारीकरण र प्रर्वद्धन गर्न स्टल बुकिङ्ग खुल्ला गरिएको अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।
बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म हुने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । जिल्ला भित्र र बाहिरका हजारौँ अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने भएकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सहयोग हुने उहांँको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् नेपाल फुटवेयर म्यानुफ्याक्चरर एशोसियसनका अध्यक्ष नानीराज घिमिरेले नेपालमा फुटवेयरको प्रचुर सम्भावना रहेको बताउनु भयो । वार्षिक १६ करोड रुपैयाँको जुत्ताचप्पल उत्पादन गर्ने क्षमता भएका नेपाली उद्योगले १० करोड रुपैयाँको मात्रै उत्पादन गर्नुपरेको उहांँले बताउनु भयो । पर्व विशेष मेलाबाट आर्थिक गतिविधि थप चलायमान हुन गई पलायन हुन लागेका उद्योगी व्यवसायीलाई उद्यमशीलतालाई निरन्तरता दिन सहयोग पुग्ने उहांँले विश्वास व्यक्त गर्नुभयो । एकमहिना चल्ने उक्त मेलामा २ लाख स्वदेशी विदेशीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा गुणस्तरीय उत्पादन र सहुलियत दरमा बिक्री वितरण गर्नुका साथै केही अत्यावश्यक खाद्यबस्तुको मुल्यमा एकरुपता गरिने आयोजकको भनाई छ ।