चितवन। नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्यहरुले बिद्यार्थीहरुलाई पुस्तकमा दिनुपर्ने छुटलाई सिन्डिकेट लगाई छुटमा रोक लागाउने कार्य प्रति बिद्यार्थीहरुलाई पुस्तकमा दिनुपर्ने छुट समस्या समाधानका लागि आवश्यक सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्यहरुद्वारा संयुक्त रुपमा हस्ताक्षरित ध्यानाकर्षण पत्र चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई बुझाइएको हो ।
नेपाल विद्यार्थी संघले बिगतका दिनहरूमा राजनितीक, शैक्षिक,आर्थिक तथा सामाजिक क्रान्तिको साथै विद्यार्थीहरूको हकहित एवं अधिकारको सुनिश्चितताको लागि आमुल परिवर्तनको नेतृत्व नेपाल विद्यार्थी संघले गरी आएको छ । नेपाल विद्यार्थी संघले सङ्घीय संरचना अनुसार शैक्षिक गतिविधि, निजि र सरकारी विद्यालय बीचको आसमान शैक्षिक नीति, सरकारी विद्यालय तथा विश्वविद्यालयमा रहेको असफल शिक्षा प्रणाली र व्यवस्थापन, निजि विद्यालयको चर्को शुल्क, सरकारी विद्यालयका शिक्षक एवं शिक्षिकाको लापरबाही गतिविधि एवं राजनितीकरणको कमजोरीले खस्केको शिक्षा, सरकारी अस्पताल र सरकारी विद्यालयको सेवाप्रति जनविश्वासको कमि, हरेक क्षेत्रमा बढ्दो महँगी, कालोबजारी र भ्रष्टाचार, सरकारी कार्यको सुस्तताआदि जस्ता विषय माथी बैचारिक बहस र सङ्गठनको दृष्टिकोण सहितको सशक्त अभियानमा निरन्तर लागिरहने पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा बिद्यार्थीलाई पुस्तकमा दिनुपर्ने छुटलाई सिन्डिकेट लगाई छुटमा रोक लागाउने कार्य अभिभावकीय जिम्मेवारी नभई अलोकतान्त्रिक र गैरकानुनी कार्य गरेकोमा नेपाल बिद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ । बिद्यार्थी साथै ग्राहकहरुलाई छुट र सहुलियत दिनुपर्नेमा उल्टै मनोमानी र सिन्डिकेट लादेर अन्याय गरेकोमा नेपाल बिद्यार्थी संघको आपत्ति छ । तसर्थ तत्कालीन समयमा जुनसुकै पुस्तकहरुमा दिदै आएको १५ % देखि २० % छुट दिन पुन सुचारु गराई समाधान गर्न पहलकदमी गरिदिनको लागि नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्यहरुले अनुरोध गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पत्रमा उल्लेख गरिएका विषयमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायहरुसँग छलफल गर्ने बताउनु भयो । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु, बिद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।