चितवन । नारायणगढका प्रतिष्ठित सुनचाँदी व्यवसायी एवं समाजसेवी ज्ञानेन्द्रमान शाक्यको आत्मकथा ‘जीवनलाई फर्किएर हेर्दा’ सार्वजनिक भएको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सोमबार भरतपुर–१, वागीश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् ।
विमोचित पुस्तकमाथि लेखक एवं समालोचक डिआर पोखरेलले टिप्पणी गरेका थिए । उनका अनुसार पुस्तकभित्र व्यवसायी शाक्यको बाल्यकालदेखि हालसम्मका संस्मरणहरु समेटिएको छ । पुस्तकभित्र शाक्यले खुलेर आफ्नो जीवनका रोमाञ्चक क्षणहरुको समेत उल्लेख गरेको पोखरेलले बताए ।
न्यू लोकमान एण्ड सन्स सुनचाँदी पसलका संचालक शाक्यले आफ्नोबारेमा सबैले जानकारी पाऊन् भन्ने उद्देश्यले पुस्तक प्रकाशनमा ल्याएको बताए । आफूले यो संसार छाडेर गएपछि पनि भावी पुस्ताले आफूलाई सम्झने एउटा माध्यमका रुपमा पुस्तक प्रकाशित गरेको उनले बताए । यो संस्करण प्रकाशनको लागि जेठा छोरा निलेनमान शाक्यले उत्प्रेरणा दिएको उनले बताए ।
उक्त पुस्तकको लेखन,सम्पादन लेखक डिआर पोख्रेल, वरिष्ठ पत्रकार विरेन्द्रमणी पौडेल र सूर्यप्रकाश कंडेलले गरेका हुन् ।
सोही समारोहमा लोकमान एण्ड सन्सद्वारा निर्मित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको प्रवेशद्वारको समेत प्रदेश मन्त्री जोशीले समुद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै मन्त्री जोशीले समाजसेवाको क्षेत्रमा शाक्यको योगदान प्रशंसनीय रहेको बताए । उनले श्री वागीश्वरी आध्यात्मिक परिषद् र यस अन्तर्गत संचालित प्राकृतिक चिकित्सालय लगायत विभिन्न संस्थाको उन्नतिका लागि सहयोग गर्न आफू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
बागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवालले परिषद्को थप विकासका लागि सहयोगको नदी होइन, सागर नै ल्याउन पहल गर्ने उद्घोष गरे । नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाका अध्यक्ष डा। यमबहादुर बिकेले समाजसेवाका अनुकरणीय व्यक्तित्व ज्ञानेन्द्रमान शाक्यले आत्मकथा प्रकाशित गरेर अर्को उदाहरणीय काम गरेको बताए ।
श्री वागीश्वरी आध्यात्मिक परिषद्का अध्यक्ष एवं यस अन्तर्गत संचालित प्राकृतिक चिकित्सालयका कार्यवाहक अध्यक्ष शैलेन्द्रकुमार पियाको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार वीरेन्द्रमणि पौडेलले संचालन गरेका थिए । अध्यक्ष पियाले परिषद् र प्राकृतिक चिकित्सालयलाई सहयोगी हातहरुको खाँचो रहेको बताए ।