काठमाडौं । नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत समूह ‘एफ’को खेल तटस्थस्थल उज्वेकिस्तानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल तटस्थस्थल उज्वेकिस्तानमा हुने जानकारी दिएका हुन् । एसियाली फुटबल महासंघ (एएफसी)ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको उनले बताए ।
यसअघि जारी तालिकाअनुसार नेपालले समूह ‘एफ’को छनोट खेल दशरथ रंगशालामा आयोजना गर्ने तय थियो । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स पनि छन् ।
छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा रहेको छ । एन्फाले महिला टोलीलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बंगलादेशलगायत देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।
आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार/चार र अर्को चार समूहमा तीन/तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ । समूहको शीर्ष टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ ।
प्रतियोगिता सन् २०२२ मा भारतका तीन सहरमा हुँदै छ । त्यसका लागि भारतले आयोजनास्थलको पनि टुंगो लगाएको छ भने लोगो पनि सार्वजनिक गरिसकेको छ ।