चितवन । मंगलबार बेलुका तीन जना मानिस आक्रमण गरी घाईते बनाएको पाटे बाघलाई नियन्त्रणमा लिईएको छ ।
आज बिहान करिब १०ः३० बजे माडी नगरपालिका वडा नम्बर ३, रेवा टोलस्थित रौतनी खोला किनारबाट बाघलाई नियन्त्रणमा लिइएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज प्रशासन तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका हात्ती सहितका प्राविधिकहरु एवं निकुञ्जका सेना, इलाका प्रहरी कार्यालय माडी, बघौडा उपभोक्ता समिति लगायतको सामूहिक प्रयासमा डार्ट गरी बाघ नियन्त्रणमा आएको हो। बाघलाई नियन्त्रणमा लिई प्राकृतिक बासस्थानमा छोड्ने तयारी भईरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
मंगलबार दिउँसो मानव बस्तीमा प्रवेश गरेको बाघले माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी , ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझीलाई आक्रमण गरी घाइते बनाएको थियो । घाइतेहरुको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरूलाई बाघले आक्रमण गरेको तिवारीको भनाई छ । सो बाघले रामनाथ माझीको बाख्राको खोरमा पसेर एक वटा बाख्रा समेत मारेको थियो ।