चितवन । चितवनको भरतपुरमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि पत्रकार नवरजा ढकालले ५० हजार सहयोग गरेका छन् ।
भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको नेपालकै पहिलो प्रेस चौतारीको भवनका लागि आज विहान पत्रकार ढकालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ५० हजार सहयोग हस्तान्तरण गरे । गत बैशाख २२ गते प्रेस चौतारी चितवनको भवन शिलान्यास समारोहमा ढकालले ५० हजार दिने घोषणा गरेका थिए । चितवनमा राजधानी आस्था नामक पत्रिका प्रकाशन गर्दै आएका ढकाल प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष हुन् ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढकालले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशकै पहिलो भवन बन्दै गरेकोले सो भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । उनले भने, ‘आर्थिक रुपमा सबैलाई यतिबेला गाह्रो छ, मेरो पनि बैंकमा ऋण छ, पैसा धेरै भएर सहयोग गरेको हैन, मन ठूलो बनाउँनुपर्छ । सबैले साथ सहयोग गर्दा हाम्रो उद्देश्य पुरा हुन्छ । जति सकिन्छ आफ्नो गक्ष अनुसार सहयोग गरौं ।’ पत्रकार ढकालले आगामी दिनमा पनि अझै आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने वचन दिए ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन अग्रज पत्रकार ढकालले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताउँदै संगठनका हरेक गतिविधीमा साथ र सहयोग गर्दै आएको बताए । उनले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गरे ।
समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । १ बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।