चितवन । युवा व्यवसायीको सामाजिक संस्था राउन्ड टेबल नेपालले चितवनको माडी नगरपालिका वडा नम्बर ७ स्थित पारुली खोलाको बगरमा रहेका चेपाङ्ग बस्तीलाई शौचालय हस्तारण गरेको छ । शुक्रबार नगरपालिकाका प्रमुख ताराकुमारी महत्तोको प्रमुख आतिथ्यतामा आधुनिक पक्की शौचालय हस्तान्तरण गरिएको हो ।
नारायणगढ राउन्ड टेबल १४ र काठमाडौं इलाइट राउन्ड टेबल २ को सहयोगमा ५ लाख ७५ हजार खर्च गरेर उक्त बस्तीमा ४ वटा शौचालय निर्माण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै महत्तोले शौचालय निर्माण पछि यहांँका १५० घरधुरी रहेको बस्ती लाभान्वित भएको बताईन ।
गास बासको साथै स्वस्थ जीवन बांँच्न पाउनु नागरिकको अधिकार रहेको भन्दै महत्तोले राउण्ड टेबलको सहयोग प्रति आभार प्रकट गरिन । स्थानीय सरकार नपुगेको ठाउंँमा पनि सहयोगी संस्था पुगेको भन्दै मानवसेवानै सर्वोपरी धर्म रहेको बताईन् ।
संस्थाका केन्द्रिय अध्यक्ष राहुल अग्रवालले संस्थाले शिक्षा, स्वास्थ्य क्षेत्रमा देशभरका विद्यालय तथा समुदायमा सहयोग गर्दै आएको जानकारी दिंँदै सरसफाईलाई पनि संस्थाले उत्तिकै महत्व दिंँदै आएको बताए । आगामी दिनमा पनि देशका विभिन्न क्षेत्र र समुदायमा संस्थाले सहयोग गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका राउण्ड टेबल नारायणगढ १४ का अध्यक्ष विवेक चाचान, पूर्व अध्यक्ष विकास बर्मा, पंकज अग्रबाल, कपिल सागर कर्माचार्य प्रेम राठी , उपाध्यक्ष डा सन्दिप गर्ग, महासचिव राहुल चाचान, सदस्य जय जोशी, सौरव खेतानको सहभागिता रहेको थियो ।