चितवन – रोमाञ्चक खेलमा जित हात पार्दै गैंडाकोट एफसी चितवन च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) सम्पन्न खेलमा गैंडाकोटले हर्दी युवा समाज भण्डारालाई पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक खेलमा गैंडाकोटले हर्दीलाई ४-३ ले निराश बनायो । गैंडाकोटको जितमा फोफोनाले दुई तथा जय गुरुङ र मेसुकेले एक-एक गोल गरे । हर्दीका विज्ञान चौधरीले दुई तथा अभिषेक चौधरीले एक गोल गरे ।
खेलको ३९ औं मिनेटमा विज्ञानको गोलमा हर्दीले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै बेर टिक्न सकेन । लगत्तै ४२ औं मिनेटमा गैंडाकोटले बराबरी गोल फर्कायो । गैंडाकोटका जयले पहिलो गोल गरे । लगत्तै ४५ औं मिनेटमा फोफोनाको गोलमा गैंडाकोटले अग्रता लियो ।
५४ औं मिनेटमा मेसुकेले गोल गरेपछि गैंडाकोटले ३-१ को अग्रता लियो । ५६ औं मिनेटमा अभिषेकले गोल गरेपछि हर्दीले अग्रता छोट्यायो । ७२ औं मिनेटमा हर्दीले बराबरी गोल फर्कायो । गैंडाकोटले डिबक्समा ह्याण्ड गरेपछि रेफ्रीले हर्दीलाई पेनाल्टी दिए । प्राप्त अवसरमा विज्ञानले कुनै गल्ती नगरी गोल गरेपछि हर्दीले गैंडाकोटविरुद्ध बराबरी गर्यो ।
तर इन्जुरी समयमा गैंडाकोटले पेनाल्टी पायो । जसमा फोफोनाले निर्णायक गोल गरेपछि गैंडाकोट ४-३ ले विजयी भयो । हर्दीका विज्ञान म्यान अफ दि म्याच भए ।
च्याम्पियनसिपमा मंगलबार आयोजक एभरेष्ट क्लब र बिवाईसी जु एफसी भिड्नेछन् । असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।