सूर्यप्रसाद अधिकारी, चितवन । चालु आर्थिक बर्ष ०७९,०८० को श्रावण देखि जेठ महिना सम्म चितवनमा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार ११ महिनाको अवधिमा सवारी दुर्घटनाबाट ७५ जनाको मृत्यु ५२५ जना घाईते भएका हुन् ।
सबैभन्दा बढी मृत्यु हुनेमा पुरुष
कार्यालयले दिएको तथ्यांक अनुसार सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमा पुरुषको संख्या बढी छ । जसअनुसार सबैभन्दा बढी जेठ महिनामा १३ जनाको मृत्यु भएको मध्ये १२ जना पुरुषको मृत्यु भएको थियो भने एकजना महिलाको मृत्यु भएको थियो । सबैभन्दा कम माघमा एकजना पुरुषको मृत्यु भएको छ ।
यस्तै कार्तिक महिनामा १० जना पुरुष एकजना बालिका, साउन महिनामा ६ जना पुरुष र तीनजना महिला, चैत्र महिनामा ८ जना पुरुष र एकजना बालिका, असोजमा ६ पुरुष एक महिला, मंसिरमा पांँच पुरुष एक एकजना बालबालिकाको मृत्यु भएको छ ।
पुषमा ३ पुरुष एक महिला र एक बालक,बैशाखमा ४ पुरुष, भदौमा ६ पुरुष र फागुनमा ३ जना पुरुषको मृत्यु भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख राजकुमार तामाङ्गले महिलाको तुलनामा पुरुषहरु नै सवारी चालक बढी रहेकोले मृत्युको संख्या बढी भएको बताउनु भयो । ‘जनसंख्या महिलाको बढी भएपनि सवारी चालक र यात्रा गर्ने पनि बढी पुरुष नै देखिन्छ , उहांँले भन्नुभयो, पुरुषले बढी लापरवाही र मापसे गरेर सवारी चलाएको पाईएको छ । ’
नीजि , सरकारी दुईपांँग्रे , चारपांँग्रे तथा अन्य सवारी साधनमा चालक पुरुष नै बढी संलग्न भएकोले दुर्घटनाबाट मृत्यु हुनेमा पुरुषनै बढी भएको उहांँको भनाई छ ।
५२५ जना घाईते
चालु आर्थिक बर्षको साउन देखि जेठ महिनासम्म सवारी दुर्घटनाबाट ५२५ जना घाईते भएका छन ।
ती मध्ये १६१ जना गम्भिर घाईते भएका थिए भने ३६४ जना सामान्य घाईते भएका छन ।
दुर्घटनामा ११७ जना पुरुष गम्भिर घाईते र २२४ जना सामान्य घाईते भएका थिए । यस्तै सो अवधिमा ३७ जना महिला गम्भिर घाईते र ८८ जना सामान्य घाईते भएका थिए । कार्यालयका अनुसार ६ जना बालक गम्भिर घाईते र २६ जना सामान्य घाईते भएका थिए भने १ जना बालिका गम्भिर घाईते र २६ जना सामान्य घाईते भएका थिए ।
कार्यालय प्रमुख तामाङ्गले सवारी चालक तथा मजदुर लगायतमा पुरुषकै संख्या बढी भएकोले स्वभाविक रुपमा घाईतेको संख्या पनि पुरुषकै भएको बताउनु भयो ।
सडकको अवस्था र मौसम , दुर्घटनाको प्रकृति अनुसार हरेक महिना दुर्घटनाबाट मानवीय क्षतिको संख्या घटबढ हुने उहांँको भनाई छ ।
सवारी दुर्घटना न्यूनिकरण गर्न हरेक सोमबार सवारी कक्षा सञ्चालन शुरु गरिएको उहांँले जानकारी दिनुभयो ।