नवलपुर । लिटिल फ्लावर स्कूल सेहरीद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत शुक्रवार स्कूलले शिविर संचालन गरेको हो ।
शिविरमा डा.सन्दिप पाण्डेको नेतृत्वमा डा.सुजता गुप्ता ,डा. अशेष श्रेष्ठ , बरिष्ठ स्वास्थ्यकर्मी मिरियम थापा ,बरिष्ठ स्वास्थ्यकर्मी कुम नारायण महत्तो र नर्स मधु महत्तो लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । ३० जना पुरुष र ८० जना महिला गरी ११० जना विरामीको स्वास्थ्य परीक्षण गरिएको स्कूलकी नर्स मधु महत्तोले जानकारी दिनुभयो ।
शिविरमा महिलाहरुको पाठेघर र महिनावारीको समस्या, वाथ रोग, उच्चरक्तचाप, मधुमेह,पेट रोग सम्बन्धी समस्या देखिएको फिजिसियन डा. पाण्डेले बताउनु भयो । शिविरमा समस्या देखा परेका विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
उक्त शिविर कार्यक्रममा गंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपाल,बुलिङटार र दर्पण हेल्थ केयर प्रा.लि. चितवनको संयोजन तथा दिव्य ज्योति सामुदायिक संघ मकावनपुरको प्राविधिक सहयोग रहेको थियो ।
लिटिल फ्लावर स्कूलले देशैभरि आफ्नो शाखामा यस्ता कार्यक्रमलाई अगाडि बढाई रहेको छ । संस्थाको शाखा विस्तार कार्यक्रम अनुसार नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं.२ सेहरीमा यसै शैक्षिक वर्ष देखि पठनपाठन संचालन सुरु गरिएकोे हो ।