सूर्यप्रसाद अधिकारी चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक बर्ष ०७९, ८० को अन्त शुल्क शिर्षकबाट ज्येष्ठ महिनामा २ अर्ब ६४ करोड राजश्व संकलन गरेको छ । कार्यालयले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी मदिरा तथा सूर्तीजन्य पदार्थको करबाट ज्येष्ठ महिनामा २ अर्ब ६४ करोड ७३ लाख ९९ हजार राजश्व संकलन गरेको हो । आन्तरिक राजश्व विभागले यो शिर्षकमा उक्त महिना ३ अर्ब ७ करोड ३९ लाख ५१ हजार रुपैंया असुली गर्ने लक्ष्य दिएको थियो ।
यस्तै मुल्य अभिवृद्धि करबाट जेठ महिनामा १७ करोड १५ लाख ११ हजार राजश्व असुली भएको छ । यस शिर्षकमा विभागले २४ करोड ८६ लाख १६ हजार रुपैया असुली गर्ने लक्ष्य दिएको थियो ।
तर आयकर शिर्षक र स्वास्थ्य सेवा करमा भने कार्यालयले लक्ष्य भन्दा बढी कर संकलन गरेको छ । जसअनुसार विभागले कार्यालयलाई आयकरमा १५ करोड १२ लाख ५४ हजार रुपैंया लक्ष्य दिएकोमा जेष्ठ महिनामा २० करोड २३ लाख ३ हजार रुपैंया राजश्व संकलन भएको छ भने स्वास्थ्य सेवा करमा २० लाख ७३ हजार लक्ष्य दिएकोमा ५१ लाख ८४ हजार रुपैया संकलन भएको छ ।
कार्यालयका अनुसार बहाल कर शिर्षकमा ५६ लाख ८१ हजार लक्ष्य दिएकोमा ३५ लाख ९३ हजार रुपैया असुली भएको छ, व्याज कर शिर्षकमा ५१ लाख ८६ हजार लक्ष्य दिइएकोमा ३७ लाख ३६ हजार राजश्व असुली भएको छ । भने शिक्षा सेवा करमा विभागले कुनै लक्ष्य दिएको छैन र राजश्व पनि असुली नभएको कार्यालयले जानकारी दिएको छ ।
यी सबै शिर्षकमा गरी जेठ महिनाको लागि विभागले दिएको लक्ष्यभन्दा १३ दशमलब ५ प्रतिशत कम राजश्व असुली भएको हो । जसअनुसार उक्त महिनाको लागि ३ अर्ब ४८ करोड ६७ लाख ४३ हजार लक्ष्य दिईएकोमा कार्यालयले ३ अर्ब ३ करोड १६ लाख ५६ हजार रुपैंया मात्र राजश्व असुली भएको छ । कार्यालयका सूचना अधिकारी विष्णु रावतले विगतका महिनामा भन्दा जेष्ठ महिनामा कर असुलीमा सुधार आएको बताए । ‘यो महिना पेय पदार्थ तथा सूर्तीजन्य पदार्थको निकासी पनि बढ्यो उनले भने, आयकर तिर्ने करदातालाई पनि हामीले ताकेता गर्यौं ।’ उनले भने ।
जेष्ठ महिनामा मदिरा तथा सूर्तीजन्य र अन्य पेय पदार्थको निकासी बढी भएकोले गत महिनाको तुलनामा राजश्व असुली लक्ष्यमा सुधार आएको उनको भनाई छ । बैशाख महिनामा कार्यालयले लक्ष्य भन्दा २८ प्रतिशत कम राजश्व असुली गरेको थियो ।
चितवनको सबैभन्दा बढी राजश्वको श्रोत मदिराजन्य पदार्थ भएकोले यस शिर्षकमा बढी कर असुली हुने गरेको छ । सूर्तीजन्य उद्योग तथा कारखानाले स्वास्थ्य जोखिम कर तिरेकोले ज्येष्ठ महिनामा स्वास्थ्य सेवा करमा लक्ष्य भन्दा बढी कर असुली भएको रावतले बताए । विभागले यस चालु आबको लागि २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार राजश्व असुलीको लक्ष्य दिएको छ भने हालसम्म कार्यालयले १९ अर्ब ७३ करोड २५ लाख ५४ हजार असुली भएको कार्यालयले जनाएको छ ।