चितवन – अभिषेक चर्च रहजरले र्छैठौं चितवन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
एभरेष्ट क्लब चितवनको आयोजनामा आज (मंगलबार) बाट सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा रजहरले नारायणी मोटर्स युनिक एफसीलाई टाइब्रेकरमा पराजित गरेको हो । रजहरले युनिकलाई टाइब्रेकरमा ४-१ ले निराश बनायो ।
नेपाल प्रहरी शिक्षालयको मैदानम भएको निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा रजहरका चारै खेलाडीले गोल गर्दा युनिकका सौरभ प्रजा र अमिर केसीको प्रहार रजहरका अनुप रानाले बचाए ।
त्यसघि निर्धारित समयमा १-१ गोल भएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलमा रजहरले अग्रता लिएको थियो । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा रोजल दाहालले युनिकका लागि बराबरी गोल फर्काए पनि हार टार्न सकेनन् । रजहरका गोलरक्षक अनुप राना म्यान अफ दि म्याच भए ।
च्याम्पियनसिपमा बुधबार पनि एक खेल हुनेछ । बुधबार केबिए ग्लोबल भरतपुर फुटबल क्लब बिएफसी र स्टार स्पोर्ट्स क्लब बरुवा माडी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
असार १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।