भरतपुर – ब्राइटस्टार इंग्लिस स्कुल भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (बुधबार) सम्पन्न खेलमा कालिका संस्कारकुलमलाई पराजित गर्दै ब्राइटस्टारले सेमिफाइनलमा स्थान बनाएको हो ।
ब्राइटस्टारले कालिकालाई ४-२ ले पाखा लगायो । उसको जितमा कप्तान मनिक आले मगर र रोहन परियारले समान २-२ गोल गरे । कालिकाका क्षितिज महतोले दुई गोल गरे पनि हार टार्न सकेनन् ।
खेलको दोस्रो मिनेटमा रोहनको गोलमा व्राइटस्टारले अग्रता लिएको थियो । २३ औं मिनेटमा क्षितिजले कालिकाका लागि बराबरी गोल फर्काए । खेलको पहिलो हाफ १-१ को बराबरीमा सकियो ।
दोस्रो हाफमा थप चार गोल भयो । दोस्रो हाफको १२ औं मिनेटमा क्षितिजले गोल गर्दै कालिकालाई अग्रता दिलाए । लगत्तै १४ औं मिनेटमा मनिकले ब्राइटस्टारका लागि बराबरी गोल फर्काए । १७ औं मिनेटमा रोहनले गोल गर्दै ब्राइटस्टारलाई ३-२ को अग्रता दिलाए । अतिरिक्त समयको तेस्रो मिनेटमा कप्तान मनिकले गोल गर्दै ब्राइटस्टारलाई ४-२ को जित दिलाए । मनिक नै म्यान अफ दि म्याच चुनिए ।
ब्राइटस्टारले अब फाइनल प्रवेशका लागि होली भिजनको सामना गर्नेछ । होली भिजन यस अघि नै स्काई राइडरलाई पाखा लगाउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । खेल शुक्रबार ४ बजे हुनेछ । शुक्रबार नै दोस्रो सेमिफाइनलमा वाल्मिकी शिक्षा सदन र ग्रीनल्याण्ड भिड्नेछन् । प्रतियोगिताको फाइनल असार २ गते शनिबार हुनेछ ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।