भरतपुर – होली भिजन स्कुल भरतपुरमा जारी हानामी अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै प्रतियोगितामा सनराइज इंग्लिस स्कुलले लगातार दोस्रो जित हात पारेको छ ।
आज सम्पन्न पहिलो खेलमा होली भिजनले स्काई राइडरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । होली भिजनले १-० को जित निकालेको हो । उसको जितमा प्रशान्त गिरीले गोल गरे ।
पहिलो हाफको २२ औं मिनेटमा गिरीले गरेको गोल नै निर्णायक बन्यो । उनी नै म्यान अफ दि म्याच चुनिए ।
यस्तै आजको दोस्रो खेलमा सनराइजले ग्राण्डी स्कुलविरुद्ध ४-० को सहज जित निकाल्यो । सनराइजको जितमा उज्ज्वल पटेलले २ तथा सुलभ श्रेष्ठ र मनबहादुरले समान एक-एक गोल गरे । सनराइजका उज्ज्वल म्यान अफ दि म्याच भए ।
सनराइजले अब सेमिफाइनल प्रवेशका लागि ग्रीनल्याण्ड पब्लिक स्कुलको सामना गर्नेछ । खेल बुधबार अपरान्ह ५ बजे हुनेछ । त्यसअघि बुधबार नै पहिलो खेलमा जनप्रिय स्कुल र कालिका स्कुल भिड्नेछन् ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा जारी प्रतियोगिता असार २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।