काठमाडौँ ।पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताउनुभएको छ ।
शैलजा आचार्य आदर्श समाजले आज यहाँ आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकता ः भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
“लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ”, पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ ।”
उहाँले राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै उहाँले गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ । राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ । जबसम्म विधि र कानूनको शासन सही ढङ्गले जाँदैन र नेतृत्व सही ढङ्गले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन ।”
पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गर्नुभएका निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उहाँप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार राजनीतिक दलभित्र प्रणाली सुधार गर्नुपर्छ । पार्टीभित्र जनप्रतिनिधि चयनमा विभिन्न चलखेल हुने गरेको छ । समानुपातिक टिकट वितरणमा ठूलो समस्या प्रजातान्त्रिक पार्टीमै छ ।
कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले मूल्य र मान्यताको संस्कृति हराउँदै गएको तर भ्रष्टाचार र बेथिति बढेको छ भन्दै यसले लोकतन्त्रलाई कमजोर पार्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “थोत्रो घरमा मुसाले दुःख दिएजस्तो नेपालमा भ्रष्टाचारले त्यस्तै रूप लिएको छ । भ्रष्टाचारी र बेइमानीको हाईहाई हुने तर असल र इमान्दार व्यक्तिको आत्मसम्मान छैन, यो विडम्बना हो असल मान्छेको खोजीको संस्कृति भएन ।”
शैलजा आचार्यको मूल्यमान्यता र आदर्शलाई नयाँ पुस्तामा कसरी पु¥याउने भन्ने चुनौती रहेको पनि उहाँले बताउनुभयो ।
वरिष्ठ पत्रकार हरिबहादुर थापाले ‘इमान्दार’ शब्द नै हराउँदै गएको, आपराधिक व्यक्तिहरू सङ्गठित हँुदै गएको र इमान्दारहरू छिन्न भिन्न हँुदै गएको भन्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निरन्तर खबरदारी जरुरी भएको उल्लेख गर्नुभयो ।
उहाँले मुलुकमा लोकतान्त्रिक प्रणाली बलियो बनाउन तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा शैलजा आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
सांसद कमला पन्तले शैलजा आचार्यको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको आदर्शलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविद्युत्को विकासमा समेत आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।
कार्यक्रममा भ्रष्टाचारविरुद्ध निरन्तर खोज तथा अनुसन्धानमा सक्रिय रही असल शासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै पत्रकार हरिबहादुर थापालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका तर्फबाट पूर्वराष्ट्रपति यादवले पत्रकार थापालाई सम्मान गर्नुभएको थियो । रासस