चितवन । भरतपुरमा आजबाट सुरु भएको हानामी अन्तर विद्यालय फुटबल प्रतियोगितामा वाल्मिकी र होली भिजनले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिता अन्तर्गत आज सम्पन्न उद्घाटन खेलमा वाल्मिकी शिक्षा सदन विजयी भयो । भरतपुर १० स्थित गेस्टहाउस चौरमा भएको खेलमा वाल्मिकीले पोलार स्टार ईंग्लिस स्कुललाई २–० ले निराश बनायो ।
वाल्मिकीको जितमा विवेक शाही र सरोज गुरुङले गोल गरे । वाल्मिकीका सुमित सापकोटा म्यान अफ दि म्याच घोषित भए । उनलाई एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरका प्रवन्ध निर्देशक डा प्रमोद लामिछाने पुरस्कार प्रदान गरे ।
आजको दोसो खेलमा होली भिजनले भानु मेमोरियललाई पराजित ग¥यो । होली भिजनले भानुलाई ४–० ले पाखा लगायो । होली भिजनको जितमा सागर कंडेलले ह्याट्रिक गरे । कंडेल नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो ४ बजे आदर्श पब्लिक र उशा बोर्डिङबीच हुनेछ । यस्तै दोस्रो खेलमा स्काई राइडर र नारायणी विद्या मन्दिर भिड्नेछन् । उक्त खेल अपरान्ह ५ बजे हुनेछ ।
भरतपुर फुटबल क्लब र यात्रा ग्रुपको आयोजनामा सुरु भएको प्रतियोगितामा २१ वटा संस्थागत विद्यालयहरु सहभागी छन् । असार २ गतेसम्म हुने प्रतियोगिताको विजेताले २० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले दश हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।