गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ५ स्थित नगरपालिका चोकमा मकैका विभिन्न परिकार सहित मकैघर सञ्चालनमा आएको छ । राजमार्गका यात्रुहरु र स्थानीय ग्राहकलाई लक्षित गरी उक्त मकैघर आईतबार देखि सञ्चालनमा आएको हो । स्थानीय युवा व्यवसायी लिला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्धेश्य सहित मकैघर सञ्चालनमा ल्याएको बताए ।
उनका अनुसार मकैघरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै , मकैको चटपट, मकैको मःम , मकैको सातु , मकैको पकौडा लगायतका परिकार पाईन्छन । यस्तै मकैसंँग खान मिल्न गरी मोही, उखुको जुस, फलफूलका जुसहरु ग्राहकलाई उपलब्ध गरिएको उनले बताए । ‘यो एकदम हाइजेनिक, विभिन्न भिटामिन पाईने खाजा पनि छ । यो सस्तो पनि छ स्वस्थ पनि छ ।’ सापकोटाले भने ।
राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित र व्यवसायिक रुपले सेवा दिन यो अवधारणा ल्याईएको उनले बताए । मकै पोल्न , उसिन्न उनले राष्ट्रिय आविस्कार केन्द्रबाट तयार पारिएका मेशीन ल्याएका छन । ‘म संँग अहिले आविस्कार केन्द्रबाट ल्याईएका ग्यांँसबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने मेशिन छन, उनले भने, ग्राहकको अगाडि ग्राहककै ईच्छा अनुसार मकैका परिकार दिनेछौं ।’ मेशीनबाट पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने उनको भनाई छ ।
हाल दैनिक जसो दुईसयको हाराहारीमा ग्राहक मकैघरमा आउने गरेको उनले बताए । ‘हामीकहांँ बिहान देखि बेलुका सम्म खाजा खाने , प्याकिङ्ग लैजाने ग्राहक आउने गर्नुभएको छ , उनले भने, यो परिकार स्वादिष्ट पनि स्वस्थकर पनि छ ।’
१५ लाख लगानीमा सञ्चालनमा ल्याईएको मकैघरमा मकै पारखीहरु चितवन र राजमार्गमा गुड्ने ठूला देखि साना सवारीका यात्रु हुने गरेको उनले बताए । हाल पांँच जनालाई रोजगारी दिन लागिएको मकै घरमा एकैपटक ५० जनालाई समेत सेवा दिन सक्ने क्षमता छ । ‘मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रर्वद्धन पनि गर्छ, उनले भने, नयांँ व्यवसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।’ छिट्टैनै अर्को शाखा विस्तारका लागि भरतपुरको चौबीसकोठी क्षेत्रमा तयारी भैरहेको उनले जानकारी दिए ।