चितवन । गैंडाकोटमा रहेको मौलाकाली केबलकारले एकमहिनामा करीब २५ हजार दर्शनार्थीले केबलकार चढ्नु भएको छ । बैशाख महिनामा मौलाकाली केबलकार मार्फत २५ हजार भक्तजनहरुले मौलाकाली मन्दिरको दर्शन गर्नुभएको हो । मौलाकाली केबलकार प्रालिका प्रबन्धक सुरज पौडेलले दैनिकजसो ८०० को हाराहारीमा जना बढीले केबलकारको यात्रा गरेको जानकारी दिनुभयो ।
नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सेवा शुरु गरिएको मौलाकाली केबलकारमा दैनिक जस्तो दर्शनार्थीहरुको उपस्थिति बढ्दो क्रममा रहेको उहांँले बताउनुभयो । दैनिक जसो केबलकार चढेर मौलाकाली दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढ्दै गएको उहांँको भनाई छ । ‘केबलकारमा चढेर दर्शन गर्नेको आकर्षण बढेको पाएका छौं, उहांँले भन्नुभयो , शनिबार र अन्य बिदाका दिनहरुमा झनै प्याक हुन्छ ।’ मौलकालीको दर्शन गर्न पूर्वमा धरान पश्चिममा बुटवल दाङ्ग,पोखरा र काठमाडौंबाट समेत दर्शनार्थी आउने गरेको उहांँले जानकारी दिनुभयो ।
विहान ६ वजेदेखि सञ्चालन हुँदै आएको मौलाकाली केबलकारले साँझ ६ वजेसम्म सेवा दिदै आएको छ । बैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो ।यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा छन ्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ ।
फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ। हाल यसको दुईतर्फी भाडा ५५० कायम गरिएको छ । केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाहरुको लागि रु ३३०, विद्यार्थीहरुको लागि रु ४१५ ज्येष्ठ नागरिकहरुको लागि रु ४१५ र फरक क्षमता भएकाहरुको (अपाङ्ग) लागि रु २७५ को टिकट दर रहेको छ ।
मौलाकाली केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा तलका बालबालिकाहरुको लागि निःशुल्क सेवा दिने जनाएको छ ।मौलाकाली केबलकारको टिकट प्राप्त गर्नका लागि सर्वसाधारण यात्रुहरुले मोबाइल एप्लीकेशनमा आईएमइ पे डाउनलोड गरि सोहि एप मार्फत टिकट काट्न सक्नेछन् भने केबलकारको कार्यालय तथा आइएमई पेका आधिकारिक एजेन्टहरु मार्फत समेत टिकट प्राप्त गर्न सक्नेछन् ।