चितवन : नेपाल विद्यार्थी संघ चितवनले आफ्ना विद्यार्थी नेता बसन्त गैरेलाई तत्काल बिनाशर्त रिहा गर्न माग गरेको छ।
संघका सभाति राजेश भुसालले आज (आइतबार) विज्ञप्ति जारी गर्दै चितवन प्रहरीको हिरासतमा रहेका गैरेलाई रिहाईको माग गरेका हुन् । चैत १८ गते पूर्वी चितवनको खैरहनीस्थित रामपुर कृषि क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको थियो ।
सोही बिषयलाई लिएर चितवन प्रहरीले गैरेलाई नियन्त्रणमा लिएको थियो । क्याम्पस प्रशासन, निर्वाचन अधिकृत र प्रहरी प्रशासनले अधिनायकवादी शैलीमा एकलौटी रुपमा आफू निकट विद्यार्थी संगठनलाई निर्वाचन प्रक्रिया पूरा नगरी स्वघोषित रुपमा निर्वाचित घोषित गरेपछि १८ गते अज्ञात समूहले तोडफोड गरेको थियो ।
सोही प्रकरणमा बिना प्रमाण गैरेलाई पक्राउ गरेको भन्दै संघले आपत्ति जनाएको छ । गैरेलाई तत्काल रिहा नगरे यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं प्रशासनले लिनुपर्ने संघको चेतावनी छ ।