भरतपुर । चितवनका सक्रिय पत्रकार विप्लव काफ्ले काठमाडौंमा पुरस्कृत भएका छन्। काफ्लेले रिपोर्टर्स् क्लब नेपालको रजत महोत्सवको अवसरमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ प्राप्त गरेका हुन्। उनी नगद १५ हजार राशिसहित पुरस्कृत भएका हुन्।
यसबाहेक थुप्रै सम्मान पाइसकेका पत्रकार काफ्लेले उद्योग वाणिज्य संघ चितवनले प्रदान गरेको ५१ हजार राशिसहितको ‘उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार’समेत प्राप्त गरिसकेका छन्।
रेडियोबाट सञ्चार यात्रा थालेका काफ्ले चितवनमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। वि.सं.२०६५ सालमा रेडियो त्रिवेणी एफएमबाट पत्रकारिता सुरू गरेका काफ्लेसँग कायाकैरन दैनिकमा समाचार सम्पादक, अभियान टेलिभिजन र कालिका एफएममा समाचार प्रमुख भएर काम गरेको अनुभवसमेत प्राप्त गरिसकेका छन्।
चितवनकै स्थानीय टेलिभिजन क्रिष्टल टेलिभिजन र युनिक च्यानलमा समेत काम गरेका काफ्लेले चितवन सम्वाददाताको रूपमा सगरमाथा टेलिभिजन र नेपाल प्रेस डटकममा काम गरिसकेका छन्। हाल चितवनबाटै कारोबार दैनिकमा संवाददाता र कपुरबोट डटकममा कार्यकारी सम्पादकको भूमिकामा रहेर काम गरिरहेका छन्।
नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्यसमेत रहेका काफ्ले प्रेस युनियन चितवनका कोषाध्यक्षसमेत हुन्।