चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सभ्य ,सुरक्षित र संयमित भएर होली पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ । फागुन २२ गते पहाडि भेग र फागुन २३ गते तराई हुने होली पर्वलाई लक्षित गर्दै आग्रह गरेको हो । चितवन जिल्ला मध्य तराई भएकोले दुवै दिन होली मनाउने गर्छन् । होलीको समयमा हुने संभावित घटना र दुर्घटना हुन नदिन आग्रह गरिएको कार्यालयका प्रमुख रामेश्व र कार्कीले जानकारी दिए ।
होलीको नाममा कुनै अप्रिय र उश्रृङ्खल गतिविधि हुन नदिन प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको उनले बताए । कसैको इच्छा विपरित रङ, लोला, मोबिल, मोसो, अण्डा, केमिकल र फोहोर पानी नछ्याप्न र त्यस्ता गतिविधि गरिएको पाईएमा कानुन अनुसार कारवाही हुने उनको भनाई छ । यस्तै, महंगा गरगहना लगाएर होली नखेल्न, अपरिचित मानिसले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन नगरी सवारी नचलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।
अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिक र पर्यटकलाई कुनै किसिमको दुर्व्यवहार नगर्न, रेलिङ नभएको घरको छत र सडकमा होली नखेल्न र भिडभाड हुने स्थानमा पकेटमार तथा लुटपाटका घटनाका सम्भावना हुने भएकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ । होली पर्वको नाममा कसैले गैरकानुनी कार्य गरेको पाएमा प्रहरीको नियन्त्रण कक्ष नम्बर १००, ट्राफिक प्रहरी नियन्त्रण कक्ष नम्बर १०३ र जिल्ला प्रहरी कार्यालय चितवनको नम्बर ०५६–५९४८५५, ९८५५०९०१३३ मा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।