चितवनः लागु औषधको प्रयोग अपराध नभएको सरोकारवालाहरुले दाबी गरेका छन् । लागुऔषध उपचार र पुनस्थापनामा कार्यरत संस्थाहरुको राष्ट्रिय भेलामा बोल्ने वक्ताहरुले लागुऔषध प्रयोग कर्ताहरुलाई अपराधीको रुपमा नहेर्न आग्रह गरेका हुन् ।
नेपालको कानुनले लागुऔषध प्रयोगकर्ताहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा समस्या बनेको उनीहरुको भनाई थियो । लागु औषधको प्रयोग एउटा रोग भएको बताउँदै उनीहरुले यसलाई सुधार गर्नका लागि राज्य र समाज एक भएर लाग्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा लागुऔषधि प्रयोग कर्ता बढ्दै जाँदा रोगको रुपमा फैलने भन्दै यसलाई रोक्न सबै एक हुन जरुरी रहेको बताउनुभयो । लागुऔषध प्रयोगकर्ता कम गर्न बिद्यालय स्तरबाट सचेतना जगाउन जरुरी रहेको उहाँको भनाई थियो । लागुऔषध प्रयोग कर्ताहरु पुर्नजीवन पाए पछि समाजमा फर्कदा हुने भेदभावको अन्त्य गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले लागु औषध सम्बन्धी मुद्धा जटिल भए पनि प्रयोग कर्ता कम हुन नसक्नु समस्याको रुपमा रहेको बताउनुभयो । प्रयोग कर्तालाई अपराधीको रुपमा नहेरी रोगको रुपमा हेरेर समाजबाटै सुधार गर्न सकीने उहाँको भनाई थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक रामेश्वर कार्कीले समाजमा हुने गरेका अपराधका क्रियाकलापमा लागुऔषधको हिस्सा रहेको बताउनुभयो । यसलाई रोगको रुपमा लिएर परिवारबाट समाधान खोज्न सके प्रभावकारी हुने उहाँले बताउनुभयो ।
सेभ द चिल्र्डेनका प्रतिनिधि ड्यारेनजी सेर्पाले लागु औषध सम्बन्धि कानुन परिवर्तन हुन नसक्दा समाजमा ठूलो समस्याको रुपमा लागुऔषध प्रयोगकर्ता रहेको बताउनुभयो । कानुनी रुपमा जाँदा उनीहरुलाई अपराधीको रुपमा हेरिदाँ उनीहरुको मनोवल गिर्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “समाज परिवर्तनका लागि पनि लागुऔषध प्रयोग कर्तालाई अपराधी नभई रोगीको रुपमा हेरिनु जरुरी छ ।”
कार्यक्रममा बोल्दै द रिकोभरी नेपालका कार्यकारी निर्देशक बिष्णु फुयल शर्माले नेपालमा अहिले १ लाख ३२ हजार लागुऔषध प्रयोग कर्ता रहेको जानकारी दिनुभयो । लागुऔषध प्रयोग कर्ता मध्ये ५० प्रतिशत बिबाहीत रहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय लागुऔषधको प्रयोग गर्नेहरुमा १६ वर्ष देखि ३० वर्ष उमेर समुहका बढी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “लागुऔषध प्रयोग कर्ता मध्ये सुईको प्रयोग गर्ने अधिकांशलाई हेपटाईटिस वि को सङ्क्रमण देखिएको छ ।” यसलाई रोक्नका लागि राज्यले पुर्नस्थापना केन्द्रलाई क्षमता अभिबृद्धि तालिम, व्यवस्थापन सम्बन्धि तालिमको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । लागुऔषध प्रयोग कर्ताहरुलाई सुधार गर्ने खालका कानुन आउन नसक्नु दुखद रहेको उहाँको भनाई थियो ।
भेलामा तीन वर्षे अभियानको समेत सुरु गरिएको छ । स्वास्थ रोजौ लागुऔषध होइना भन्ने मुल नाराका साथ अभियान सुरु गरिएको हो । संस्थाका केन्द्रिय अध्यक्ष दिलिप गुरुङ्, प्रदेश अध्यक्ष दिवाकर राज श्रेष्ठले लागु औषध प्रयोग घटाउन समुदाय स्तरबाट एक भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
उहाँहरुले लागुऔषध प्रयोग कर्ता अपराधी नभएको बताउनुभयो । भेलाले दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । बिहिबार र शुक्रबार हुने भेलामा देशभरका १५० पुर्नस्थापना केन्द्रका प्रतिनिधिहरु सहभागी भएका छन् ।