चितवन । भरतपुर महानगरपालिकाले आन्तरिक कर अभियानलाई तिब्रता दिने भएको छ । आज महानगरपालिकामा ‘हाम्रो लागि हाम्रै प्रयास कर अभियान मार्फत समृद्धि र विकास’ भन्ने मुल नाराका साथ आन्तरिक कर अभियानको उद्धघाटन गरी रेनु दाहालले शुरु भएको जानकारी दिनुभयो । चालु आर्थिक बर्ष ०७९,८० को ६ महिना कटिसक्दा पनि आन्तरिक कर संकलन नभएपछि कर अभियान शुरु गरिएको हो ।
चालु आबमा भरतपुर महानगरले १ अर्ब ५० करोड लक्ष्य लिईएपनि हालसम्म जम्मा ३९ करोड मात्रै संकलन भएकोले कर अभियान शुरु गरिएको महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । ’हामी अघिल्ला बर्षहरुमा भन्दा अहिले आन्तरिक कर संकलनमा निकै कमजोर देखियो उहांँले भन्नुभयो, करलाई प्रभावकारी बनाउन र लक्ष्य प्राप्तिको लागि कर अभियान शुरु गर्नु परेको हो ।’ कर तिर्नु सबैको दायित्व भएको भन्दै उनले सबै नीजि क्षेत्र लगायत करदातालाई लाई जिम्मेवार बन्न उहांँले आग्रह गर्नुभयो । ‘काठमाडौं महानगरको यो बर्षको ५० अर्ब लक्ष्य लिएकोमा ३० अर्ब उठिसकेको छ , तर हाम्रो कर संकलन निकै दयनिय छ ।’ दाहालले भनिन । यसको दायरा बढाई कर चुहावट रोकी काम गर्नुपर्ने उहांँको भनाई छ ।
सो अवसरमा महानगरपालिकाका राजश्व महाशाखा प्रमुख बिसुराम कुंँवरले आफ्नो घरको बहालकर स्वघोषणा गरी कर अभियानको शुरु गर्नुभएको थियो । कुंँवरले कर अभियानको योजना बारे प्रस्तुतिकरण गर्दै भरतपुर महानगर सहयोग, अनुदानमा परनिर्भर हुन नहुने बताउनु भयो । उनले भरतपुर महानगरको करको स्रोत पहिचान गरी कर संकलन गर्नुपर्ने बताए । ‘भरतपुर महानगरपालिकाको प्रमुख आम्दानीको श्रोत घर बहाल कर हो , उहांँले भन्नुभयो, हामीले टोलविकासंस्था, वडा, कर्मचारी लगायत टीम बनाएर घर दैलौ गर्नुपर्छ । ’उहांँले करदातामैत्री शिक्षा प्रणालीको आवश्यक रहेको भन्दै महानगरको करको दायरा थप बढाउनु पर्ने बताउनु भयो । आगामी दिनमा कर संकलन प्रणालीलाई व्यवस्थित गर्न टोलविकास संस्था मार्फत तथ्यांक संकलन गरी ‘एप्स’ मार्फत अध्यवद्यिक गरिने उहांँले बताउनु भयो । महानगरको कर संकलनमा बृद्धि गर्न नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्नुपर्ने, ठूला कर दाताको लागि अलग्गै संंयन्त्र तयारी गरी कर संकलन गर्नुपर्ने उहांँले बताउनु भयो । ‘सामुदायिक वन, धार्मिक क्षेत्रमा पर्यटन प्रर्वद्धन, पार्किङ्ग व्यवस्थापन कर र मनोरञ्जन कर महानगरले सही रुपमा पाएकोे छैन । यसलाई एकद्धार प्रणालीमा लैजादा उत्तम हुन्छ ।’ उहांँले भन्नुभयो ।
अर्का कर अधिकृत झलककुमार श्रेष्ठले यस बर्ष महानगरको कर संकलन सन्तोषजनक नभएकोले राजश्व सुदृढीकरणको लागि कर अभियान शुरु गर्न लागिएको बताए । यसलाई चुस्त दुरुस्त बनाउन करदाता परिचयपत्र बनाउन लागिको महानगरले जनाएको छ ।
करको दर घटाईयोस, दायरा बढाईयोस ः व्यवसायी
चितवनका व्यवसायीले करको दर घटाएर दायरा बढाउन र चुहाबट रोक्न महानगरपालिकालाई सुझाव दिएका छन । देशभर तरलता कम भएसंँगै उद्योग व्यवसाय धराशायी भएको भन्दै दायरा बढाउन जोड दिएका हुन् । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले कर संकलन भन्दा पनि पहिले करदाताको समस्या बुझ्नुपर्ने बताए । ‘पहिला करदाताको समस्या बुझ्ने बुझाउने काम गर्नुपर्दछ , उनले भने, यसको लागि टोल,संघका प्रतिनिधि, वडाका प्रतिनिधि लगायतको संयन्त्र बनाउनु पर्छ ।’
कर तिर्न प्रोत्साहनका लागि कर तिर्नेलाई कर तिरेको सूचीकृत स्टीकर उपलब्ध गराउनु पर्ने उनले बताए । ‘कर तिर्नेको लागि कर सूचीकृति स्टीकर टासियोस कर नतिर्नेको सेवा बहिस्कार गरौं ।’ उनले भने ।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्तले कर बहाल घरमा सबैभन्दा बढी योगदान निजी क्षेत्रको रहेको बताए । ‘कर बहालकर नीजि क्षेत्रले नै बढी तिरेको छ तर सट्टामा केही पाएको छैन ।’ उनले भने, । महानगरले कर संकलन गर्न पनि निजी क्षेत्रलाई टेण्डर आव्हान गरेको भन्दै विज्ञापन करको परिचय पार्टी र विज्ञापन कर छुट्टाउनु पर्ने माग गरे । कर ठेक्कामा असुली गर्न नहुने भन्दै करदातामैत्री कर अभियानमा उवासंघ सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।
चेम्बर्स अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराईले महानगरको कर असुली न्यून हुन चिन्ताको बिषय भएको बताए । महानगरभित्र पूर्वाधार सडक निर्माण लगायतका कामले पनि व्यवसाय गर्न सहज नभएकोले पनि कर संकलन कम भएको बताए । ‘पहिलेको परिस्थिति र अहिलेको परिस्थिति फरक छ , फेरिएको छ । उनले भने, केहीबर्ष अघिमात्र ५ हजार व्यवसायी कालोसूची थिए अहिले बढेर ३० हजार वटा भएको छ ।’
कार्यक्रममा महानगरका २९ वटा वडाका अध्यक्ष, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।