चितवन । गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः कृष्णप्रसाद सापकोटा चयन भएका छन । संस्थाको २९ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट सापकोटाको अध्यक्षमा ११ सदस्य सर्वसर्मत नयाँ कार्य समिति चयन गरिएको हो ।
निर्वाचन अधिकृत रामजी प्रसाद सापकोटाका अनुसार संस्थाको उपाध्यक्षमा उमराज सिग्देल चयन भएका छन । एक अध्यक्ष , एक उपाध्यक्ष सहित ९ सदस्य बन्ने यस सहकारीको विधान अनुसार सदस्यहरुमा माधवराज थपलिया, बिष्णु माया सापकोटा, सुमित्रा अधिकारी, छांँयादत्त पराजुली, सुर्य प्रकाश महतो, बोधराज सापकोटा, डम्बर बहादुर थापा, विश्वराज सापकोटा र शिला घिमिरे चयन भएका छन ।
नवराज ढकालको संयोजकमा दुर्गा प्रसाद आचार्य (अमर) र टीकाराम ओझा सदस्य रहने गरी तीन सदस्य लेखा समिति समेत निर्विरोध चयन भएको छ । नयाँ समितिले अब २०८३ साल सम्म काम गर्नेछ ।
पुनःअध्यक्ष बनेसंगै सापकोटाले सहकारीको उत्पादन‘गंगा’ ब्रान्डलाई नेपालभरी विस्तार गर्न लाग्ने बताए । ‘ पहिलो कार्यकालमा संस्था खोल्न र बजारीकरण गर्न शुरु भएको छ । अब यसलाई देशभरी पुराउन लाग्ने छु ।’ उनले भने । उनले दूध व्यवसायमा सक्रिय रहेका किसानहरुलाई व्यवसायिक बनाउन लाग्ने बताए । ‘मेरो प्राथमिकता यस क्षेत्रका किसानलाई सहकारी मार्फत व्यवसायिक बनाउनु, संस्थाको उत्पादनलाई बढाउँदै बजारी करण गर्नु पहिलो प्राथमिकता हो ।’ उनले भने ।
०४९ सालमा स्थापनाभएको यस सहकारीले किसानको दुध संकलन संगै ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ ।
किसानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षा सहित उद्योगका रूपमा संचालित यस सहकारीको आफ्नै नमुना पशुपालन फार्म पनि छ ।सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा दैनिक ६ हजारभन्दा बढी लिटर दूध उत्पादन र संकलन गर्छ ।अहिले यो सहकारीमा ५ सयभन्दा बढी किसान आबद्ध छन ।सहकारीको भरतपुर स्थित धनौजीको मुख्य कार्यालय बाहेक दुई वटा सेवा केन्द्रबाट समेत सेवा दिदैँ आएको छ ।
संकलित दूध आफैले प्रशोधन गरी दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन गर्दै आएको सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाले जानकारी दिए । चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्यबजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री हुंँदै आएको छ ।