चितवन – चितवनको कालिका नगरपालिकामा जारी कमरेड निमा स्मृति खुला नक आउट फुटबलमा शान्तिको किचन सौराहाले विजयी सुरुवात गरेको छ ।
आज (बिहीबार) भएको खेलमा शान्तिको किचनले कालिका १ लाई टाईब्रेकरमा पाखा लगायो । प्रतिस्पर्धात्मक खेलमा शान्तिको किचनले ५-४ ले बाजी मार्यो ।
निर्धारित समयमा १-१ को बराबारीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । खेलको १२ औं मिनेटमा कालिका १ को आत्मघाती गोलमा शान्तिको किचनले अग्रता लियो । २६ औं मिनेटमा कालिकाले बराबरी गोल फर्काएको थियो । खेलको म्यान अफ दि म्याच सौराहाका निश्चल महतो घोषित भए ।
प्रतियोगितामा शुक्रबार हातिगाडे एफसी र जनकौली एफसी भिड्नेछन् । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले प्रतियोगिता आयोजना गरेको हो । १९ गतेसम्म हुने प्रतियोगितामा चितवन र छिमेकी जिल्लाबाट १५ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने अनेरास्ववियू कालिकाका अध्यक्ष सिद्धान्त मगरले जानकारी दिए । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको मगरले बताए । प्रतियोगिता सम्पन्न गर्न चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।