चितवन । यातायात व्यवस्था सेवा कार्यालयले पांँच महिनामा झण्डै ३४ करोड आम्दानी गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष ०७८,०७९ को साउन महिना देखि मंसिर महिनासम्म ३३ करोड ९१ लाख ८२ हजार २५७ रुपैंया संकलन गरेको हो । कार्यालयले सवारी साधन कर, यातायात क्षेत्रको आम्दानी, सवारी दस्तुर कर र प्रशासनिक दण्ड जरीवाना लगायतका शिर्षकबाट आम्दानी गर्दै आएको छ । जसअनुसार यातायात क्षेत्रको आम्दानीबाट पांँच महिनामा २ करोड १२ लाख १० हजार १० रुपैंया, सवारी साधन कर शिर्षकबाट २८ करोड ६७ लाख ४५ हजार १४४, सवारी दस्तुर कर शिर्षकबाट ३ करोड १२ लाख २७ हजार १०३ रुपैंया आम्दानी गरेको छ भने प्रशासनिक दण्ड जरीवानाबाट कुनैपनि रकम असुली गरेको छैन ।
कार्यालय प्रमुख काली बहादुर भुजेललले सवारी संख्या बृद्धिको अनुपातमा यस बर्ष कर संकलन कम भएको बताए । ‘गतबर्षको तुलनामा त कम देखिएको छ तर जति अनुमान गरेका छौं,उनले भने, त्यति हुन सकेको छैन ।’ सरकारले नयांँ सवारी साधन आयातमा रोक लगाएको र यस बर्ष आर्थिक मन्दी भएकोले यसको असर कर संकलनमा परेको उनको भनाई छ । कार्यालयले आर्थिक बर्ष १२ महिनामा ७० करोड ८७ लाख २९ हजार ६२८ रुपैंया संकलन गरेको थियो ।
नयांँ सवारी चालक अनुमति दिने तयारी
लामो समयसम्म अड्किएको नयांँ चालक अनुमतिपत्र दिने तयारीको बाटो खुलेको छ । नीजि ड्राईभिङ्ग सेन्टरबीच विवाद भएर सर्वोच्चमा मुद्धा परेपछि केही महिनाको लागि नयांँ चालक अनुमति प्रक्रिया रोकिएको थियो ।
हाल सर्वोच्चबाट सफाई भएपछि पुनः नयांँ चालक अनुमति पत्रको लागि बाटो खुलेको हो । कार्यालय प्रमुख भुजेलले सरकारबाट अनुमति प्राप्त भईसकेकोमा कार्यालय आन्तरिक तयारी, जनशक्ति , पूर्वाधार सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । नयांँ चालक अनुमति पत्र खुलेसंँगै कर संकलनमा पनि उल्लेखनीय बृद्धि हुने उनले बताए ।