चितवन । अंग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा नारायणगढको क्याम्पा चौरमा ‘चितवन म्युजिक फेस्ट’ हुने भएको छ । डिजिफ्लाई ब्राण्डिङ एजेन्सी र एस्ट्रल युथ सोसाइटी भरतपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।
पौष १६ र १७ गते (डिसेम्बर ३१ र जनवरी १ तारिख) मा हुने कार्यक्रममा सांगितिक प्रस्तुतिहरुसँगै खानाका स्टलहरु पनि रहने आयोजक डिजिफ्लाई ब्राण्डिङ एजेन्सीका सिईओ प्रसुन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कार्यक्रममा सविन राई, नबिन के भट्टराई, कालीप्रसाद बास्कोटा, कबवेब ब्याण्ड र दि इलिमेन्ट्सले दर्शक झुमाउनेछन् । यस्तै स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने उनले बताए ।
कार्यक्रम परिसर भित्र १७ वटा खानाका स्टलहरु रहनेछन् । ती सबै स्टल निःशुल्क उपलब्ध गराइने एस्ट्रल युथ सोसाइटीका अध्यक्ष प्रकाश भुजेलले जानकारी दिए । तर व्यवसायीहरुले कार्यक्रम प्रायोजकको उत्पादन मात्रै बिक्री गर्नुपर्ने उनले बताए । यस्तै गेम स्टल, फेस पेन्टिङ स्टल पनि रहनेछ ।
दुई दिनमा दश हजार दर्शकले कार्यक्रमको अवलोकन गर्ने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । दर्शकका लागि एक हजार र पाँच सयको टिकटको व्यवस्था गरिएको उनले जानकारी दिए । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।