चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको चुनावी नतिजा सोचेजस्तो नआउनुमा पहिलो कमजोरी केन्द्र नै रहेको बताउनु भएको छ । केन्द्रबाट भएको कमजोर उम्मेद्वार छनौटका कारण चितवनको नतिजा अनेपेक्षित परिणाम आएको उहांँले बताउनु भयो ।
नेपाल प्रेस युनियन चितवनले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहांँले टिकट वितरणमा भएको कमजोरीको कारण परिणाम उल्टो आएको उहांँको भनाई थियो । चितवनकै परिणाम हेर्नुस, स्याङ्ग्जाकै हेर्नुस परिणाम राम्रो आएन । यो परिणाम आउनु पहिलो कमजोरी केन्द्रकै हो । उहांँले भन्नुभयो । ठबन्धनको संयोजक आफू भएपनि टिकट वितरण आफूले भनेजस्तो मिलाउन नसकिएको चितवनमा हार बेहोर्नुपरेको उहांँले बताउनु भयो । फरक प्रसंगमा बोल्दै नेता पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउनुभयो ।
कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वभाविक माग भएको उहांँले बताउनुभएको हो ।
“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” उहाँले भन्नुभयो, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” पार्टीभित्र सल्लाह गरेर एउटा मात्र उम्मेदवार बनाइने उहाँले बताउनुभयो । पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहको पौडेलको भनाइ छ ।
“सबै साथी खुला नै हुनुहुन्छ, सभापति र अरु साथीहरु पनि खुला हुनुहुन्छ । तर अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र हो ।” उहाँले भन्नुभयो, “पार्टी सभापतिले मेरो प्रस्तावलाई सहजरुपमा नै लिनुभएको छ । सल्लाह गरौला भन्नुभएको छ । सल्लाह हुन्छ ।”
युवाको जोस र पुरानाको अनुभवलाई मिलाएर देश चलाउने नेता पौडेलले बताउनुभयो ।
फरक शक्तिको आगमनलाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले लिएको छु ।”