चितवन – प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार उत्तम जोशी फरक ढङ्गबाट प्रस्तुत भइरहेका छन् । उनी आफ्नो पक्षमा मत माग्नुका साथै मतदाताको समस्या र गुनासो सुन्न व्यस्त छन् । उनी हरेक मतदाताको घरमा पुगेर गुनासो र समस्या सुनिरहेका छन् ।
मतदाताहरुले पनि अघिल्लो पटक चुनेर पठाएका जन प्रतिनिधिबाट अपेक्षा अनुसारको काम नभएको गुनासो गरिरहेका छन् । चुनावको समयमा जनताको घर दैलोमा पुगेर मत माग्ने मात्रै नभई उनीहरुको समस्या र गुनासो पनि सुन्नु पर्ने जोशी बताउँछन् ।
‘चुनावमा भोट् माग्न गएर मात्रै हुँदैन । मतदाताको समस्या र गुनासो पनि सुन्नुपर्छ’, जोशी भन्छन्, ‘अहिले समस्याहरु सुनिरहेको छु । निर्वाचित भएर गएपछि समाधानतर्फ अघि बढ्छु । म मत मात्रै होइन जनताको मन पनि जित्छ चाहन्छु ।’
घर दैलोको क्रममा जनताबाट नीतिगत भ्रष्टचारको गुनासो बढी आउने गरेको उनी बताउँछन् । चुनाव जित्न घर घर पुग्ने नेताहरु निर्वाचनपछि गायब हुने गरेको भनी गुनासो पनि मतदाताबाट उत्तिकै आउने गरेको उनी सुनाउँछन् ।
उनका अनुसार सुशासन, बेरोजगारीको गुनासो पनि जनताले उत्तिकै सुनाउने गरेका छ्न् । जोशीसँग मतदाताले भरतपुर १०, ११ र १२ का जनताले डुबानको समस्या बारे गुनासो बढी गरेका छन् । जनताले व्यवस्थित साइकल लेनसहितको सडक पनि चाहेको उनी बताउँछन् ।
यी समस्याहरु समाधानका लागि पहल गर्ने उनको भनाइ थियो । यी बिषयहरु मध्ये अधिकांश आफ्नो प्रतिवद्धता पत्रमा समेटिएको उनी बताउँछन् । जनताले भोगिरहेको समस्या समाधानका लागि कदापी पछि नहट्ने उनको प्रतिवद्धता छ । आफू काम गर्नका लागि नै निर्वाचनमा होमिएकोले जनतासँग गरेको प्रतिवद्धता पुरा गरेरै छाड्ने उनी बताउँछन् ।
यसैबीच चितवन २ लाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने आफ्नो योजना रहेको उनले बताएका छन् । सौराहा, गोलाघाट लगायातका क्षेत्रमा जाने पर्यटकलाई चितवन २ मा पनि आउने बातावरण बनाउन पर्यटकीय सम्भावना बोकेका क्षेत्रको बिकासका लागि योजना अघि सार्ने उनले बताए ।
राइनो ताल, जलदेवी सामुदायिक वनलगायत अन्य पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर पर्यटकीय गतिविधि बढाउने सकिने उनको भनाइ छ । नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन् ।