चितवन। चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको लागि स्वतन्त्र उम्मेद्वारी दिनु भएका तारा पौडेलले चितवनको समृद्धिको यात्राका लागि आफू निरन्तर लागिरहने बताउनु भएको छ ।
यही मंसीर ४ गते हुन गईरहेको संघीय निर्वाचनका लागि कुनैपनि दलले आफ्नो अभियानलाई साथ नदिएकाले आफूले स्वतन्त्र उम्मेद्वारी दिएको बताउनु भयो ।
आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो उम्मेदवारी बिकास निर्माणका लागि भएको बताउनुभयो । ‘यो क्षेत्रबाट प्रचण्डले जित्नु भयो, अन्य दलका पनि सांँसद भए तर केरुङ्ग– ठोरी आयोजनामा कसैको ध्यान गएन ।’ पार्टी भन्दा देश माथि रहेको भन्दै उहांँले आफ्नो उम्मेद्वारी परिवर्तनको लागि भएको बताउनु भयो । आफूले उम्मेद्वारी फिर्ता नलिने अडान राख्दै उहांँले भन्नुभयो, ’मेरो उम्मेद्वारी फिर्ता हुदैन म चाहे जितुंँ या हारौं मेरो अभियान कहिल्यै रोकिदैन ।’
आफू समझदार उम्मेद्वार भएपनि दलहरुले आफूको भावनालाई नबुझ्दा स्वतन्त्र उम्मेद्वारी दिनुपरेको उहांँले बताउनु भयो । ‘म न सतिसाल जस्तो छु न चट्टान जस्तो हुंँ म केवल परिवर्तनको सम्बाहक हुंँ ।’ पौडेलले भन्नुभयो । आफ्नो जस्तो भिजन र योजना कुनैपनि दलका नेतासंँग नभएको उहांँले दाबी गर्नुभयो ।
राजनितिलाई बिकास संग जोड्नका दलहरुले नसकेका कारण आफ्नो उम्मेदवारी रहेको भन्दै पौडेलले दलका नेताहरुले जनता झुक्काउने काम मात्रै गर्दै आएको बताउनुभयो ।
ठोरी–केरुङ् लोक राजमार्गका अभियान कर्ताको रुपमा रहनु भएका पौडेलले चितवनको बिकासका लागि दलका नेताहरुले बेबास्ता गर्दै आएको बताउनुभयो । जिल्लाको बिकासका लागि दलका नेताहरुको भूमिका सहित आफ्नो उम्मेदवारी रहने उहाँको भनाई छ । चितवनमा राजनैतिक रुपमा नेपाली काँग्रेसमा सक्रिय रहँदै आउनु भएका पौडेल पछिल्लो समय आँफुलाई बिकासबादी नेताको रुपमा चिनाउँदै आउनु भएको छ । उहाँले आफ्नो मुद्धामा सहमत हुन सकेमा जो संग पनि सहकार्य गरेर अघि वढ्ने बताउनुभयो ।
आफ्ना मुद्धामा सहमत भए जो संग पनि सहमती गर्न सक्ने भन्दै उहाँले विकासका बिषयमा एक भएर सहयोग गर्न अनुरोध गर्नुभयो । विकासको पछि लागेको भन्दै उहाँले चितवन क्षेत्र नम्बर ३ का जनताले न्याय गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।