चितवन । केही दिनयताको निरन्तर वर्षाले कमजोर बनेको त्रिशुली नदी छेउको ढिस्कोमा पहिरो गएपछि देवघाटधामस्थित गलेश्वर आश्रम र वेणी जाने बाटो धरापमा परेका छन् । बुधबारदेखि नै पहिरो झर्न सुरु गरेकोमा बिहीबार बिहान ५ः४५ बजे थप पहिरो गएकोले वेणी संगम जाने बाटो बन्द हुन पुगेको छ ।
पहिरोले ऐतिहासिक महत्वको गलेश्वर आश्रम र पुरातात्विक ज्योतिर्लिङ्गेश्वर शिवालय मन्दिर खतरामा परेको गलेश्वर आश्रमका पीठाधीश महामन्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महाराजले जानकारी दिनुभयो । ऐतिहासिक गलेश्वर आश्रममा पहिरोबाट क्षति पुग्ने जोखिमसँगै त्यहाँ आश्रित करिब ३ सय वृद्धवृद्धामा त्रास छाएको छ ।
आश्रमद्वारा सञ्चालित गुरुकुलमा आवासीय शिक्षा लिइरहेका करिब २ सय ५० जना विद्यार्थी र आश्रमका कर्मचारी र गुरुहरु करिब ५० जना पनि जोखिममा परेको गिरी महाराजले बताउनु भयो । आश्रममा दैनिक ३ सय जना आगन्तुकले निःशुल्क भोजन गर्दै आउनु भएको छ ।
देवघाटधाममा पहिरो गएपछि त्यसले पु¥याएको असरबारे बुझ्न देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारी, समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले स्थलगत निरीक्षण गर्नुभएको छ । उनीहरुले पहिरो नियन्त्रणका लागि स्थानीय स्तरबाट तत्काल काम सुरु गरिने र यसको दीर्घकालीन समाधानका लागि केन्द्र सरकारबाटै पहल हुनुपर्ने बताउनु भयो ।
पहिरो गएको जानकारी पाएपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिरो रोकथामका लागि पहल सुरु गर्नुभएको छ । उहांँले तत्काल पहिरो नियन्त्रण र पुनर्निर्माणका लागि आफूले पहल गरिरहेको जानकारी दिनुभयो । त्रिशुलीपारीको देवघाटधाम तनहुँमा पर्छ, जुन पौडेलको निर्वाचन क्षेत्र पनि हो ।
२०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले त्रिशुलीपारि देवघाटधामस्थित डाँडोमा असर पारेपछि बर्खामास सानोतिनो पहिरो खस्ने समस्या सुरु भएको थियो । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतमा त्यस ठाउँको स्थलगत निरीक्षणपछि पश्चिमाञ्चल क्षेत्रीय सिँचाई विभाग पोखरालाई विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणका लागि निर्देशन दिनुभएको थियो ।
डिपिआर तयार भयो तर सरकार फेरियो । नकेपा (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले वास्ता गरेन । त्यसपछि तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रदेश सांसद हरिबहादुर चुमानले स्थलगत निरीक्षण गर्नुभएको थियो । योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले स्थानीयसँग छलफल गरेर बहुवर्षीय योजनामा पारी देवघाटधामको पहिरो नियन्त्रणका लागि ५ करोड रुपैयाँ सिफारिस गर्नुभएको थियो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले उक्त रकम निकासा हुनबाट रोकेको स्थानीयको आरोप छ ।
पहिरो नियन्त्रणको काम सुरु नहुँदै अहिले देवघाटधामका ऐतिहासिक र पुरातात्विक महत्वका मठ, मन्दिर, आश्रम, गुरुकुल र बाटो धरापमा परेका छन् ।