काठमाडौं । भारत बेलायतलाई उछिनेर विश्वको पाँचौ ठूलो अर्थतन्त्र बनेको छ । सन् २०२१ को अन्तिम त्रैमासमा भारत अमेरिका, चीन, जापान र जर्मनीपछिको ठूलो अर्थतन्त्र बनेको हो ।
एक दशकअगाडि भारत ११ औं ठूलो अर्थतन्त्र हुँदा बेलायत पाँचौं ठूलो अर्थतन्त्र थियो । सन् २०१४ अघि सम्म पनि यो सबैभन्दा कमजोर ५ अर्थतन्त्र मध्येमा पर्दथ्यो । कोरोना भाइरसको महामारी र रुसले युक्रेनमा आक्रमण गरेयता विश्वभर महँगी चुलिएको समयमा अहिले बेलायतले दशकौं यताकै उच्च महँगीको सामना गरिरहेको छ भने आर्थिक मन्दीको जोखिम पनि बढ्दो छ ।
उता, भारतको उच्च आर्थिक वृद्धिदरले निरन्तरता पाउने सम्भावना बीच उसको हैसियत थप मजबूत हुने अर्थशास्त्री र विज्ञहरुको अनुमान छ । विश्व अर्थतन्त्रमा भारतीय अर्थतन्त्रको अनुपात अहिले साढे ३ प्रतिशत छ । डलरको विनिमय दरमा समायोजन गरिएको भारतको ‘नोमिनल’ जीडीपी गत वर्षको अन्तिम त्रैमासमा ८ खर्ब ५४ अर्ब ७० करोड डलर रहेको अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को तथ्यांकले देखाएको छ ।
सोही अवधिमा बेलायतको ‘नोमिनल’ जीडीपी ८ खर्ब १६ अर्ब थियो । ‘नोमिनल’ जीडीपीको मामिलामा भारतले बेलायतलाई उछिनेको यो सन् २०१९ यता दोस्रो पटक हो । यो वर्ष भारतको अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आकाशिएको उपभोक्ता मुद्रास्फीतिका कारण बेलायती अर्थतन्त्रलाई आर्थिक वृद्धि हासिलमा सकस छ ।
कोषका अनुसार समीक्षा अवधमिा २२४ खर्ब ९० डलर सहित अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो । दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका चीन, जापान र जर्मनीको अर्थतन्त्रको आकार क्रमशः १६४ खर्ब डलर, ५२ खर्ब ७० अर्ब डलर र ४३ खर्ब डलर छ ।
भारतको जनसंख्या १ अर्ब ४१ करोड आसपास छ । बेलायतको भने ६ करोड ६५ लाख मात्रै छ । बेलायतको भन्दा भारतको जनसंख्या २० गुणा धेरै छ । दुई देशको जनसंख्या यति धेरै अन्तर भएकोले प्रतिव्यक्ति जीडीपीको मामिलामा दुई देशबीचको अन्तर निकै फराकिलो छ । बेलायतको प्रतिव्यक्ति जीडीपी भारतको भन्दा २० गुणा धेरै छ ।
सन् २०२१ मा भारतको प्रतिव्यक्ति ग्रस नेशनल इन्कम (जीएनआई) २ हजार १७० मात्रै थियो । तर बेलायतको प्रतिव्यक्ति जीएनआई ४५ हजार आसपास थियो । भारतीयहरुको औसत आय अझै पनि बेलायतीहरुको २० प्रतिशतभन्दा कम छ । प्रति व्यक्ति जीडीपी सुधार्न भारतलाई दशकौं लाग्नेछ ।
सन् २०३० मा भारतले ‘नोमिनल’ जीडीपीमा जर्मनीलाई उछिनेर विश्वको चौथौ ठूलो अर्थतन्त्र बन्यो भने पनि यो न्यून–मध्यम आय भएको देशको सूचीमै रहनेछ । प्रतिव्यक्ति जीडीपी १ हजार ८६ देखि ४ हजार २५५ डलर भएको लेशलाई न्यून–मध्यम आय भएको देशको रुपमा परिभाषित गरिएको छ । एजेन्सीहरु