काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पाेरेशन (आईओसी)ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाएर पठाएकाले निगमले मट्टितेल र डिजेलको मूल्यमा वृद्धि गरेको हो । निगमको भदौ १६ गते बसेको सञ्चालक समितिको बैंठकले बिहीवार राति १२ बजेबाट लागू हुनेगरी मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्य भने बढाइएको छैन ।
दशैंको मुखमा डिजेल र मट्टितेलको मूल्य बढेपछि दशैं मनाउन गाउँ फर्किनेहरूको गाडी भाडा थप बढ्न सक्ने देखिएको छ ।
बढेको मूल्य अनुसार निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. १७८ तोकेको छ । हवाई इन्धन प्रतिलिटर रू. १९० र एलपी ग्यासको मूल्य रू. १ हजार ८०० यथावत राखिएको छ ।
निगमले पेट्रोलको मूल्य पनि यथावत राखेको छ । डिजेल र पेट्रोलको मूल्यमा ३ रुपैयाँको मात्र फरक छ । अहिले पेट्रोल प्रतिलिटर रू. १८१ छ । निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर रू. २ दशमलव ८२ नाफा छ ।
आईओसीले बिहीवार पेट्रोलमा प्रतिलिटर रू. १ दशमलव ३९, डिजेलमा रू. ६ दशमलव १२ र हवाई इन्धनमा रू. ८ दशमलव शून्य १ बढाएर पठाएको थियो ।
त्यस्तै आईओसीले मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने घटाएर पठाइएको निगमले बताएको छ । तर, डिजेल र एलपी ग्यासमा घाटा भएकाले पाक्षिक रू. ४८ करोड २४ लाख घाटा हुने निगमको आकलन छ ।